दीपक ठाकुर
अध्ययनका सिलसिलामा विदेश रहेका हजारौँ नेपाली विद्यार्थी कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण लाकडाउनमा बस्नु परेको छ। विदेशमा बस्ने नेपाली विद्यार्थीहरू विभिन्न किसिमको समस्या, डर र त्रासमा बस्नु परिरहेको सबैलाई ज्ञात नै छ।
नेपाली विद्यार्थीले लामो समयदेखि नेपालको राजदूतावास तथा सरकारलाई पहल गर्दा पनि सरकार यस विषयमा कुनै सुनुवाइ नगरेको देखिन्छ। लकडाउनको पालना गर्दागर्दै पनि कोरोना संक्रमण बढ्ने र त्यसको मारमा आफूहरु पनि पर्ने त्रास उनीहरूमा छ। सबै नेपाली विद्यार्थीहरुको एउटै माग छ, उनीहरूलाई तत्कालै आफ्नो घर नेपाल फर्किने वातावरण बनाइदिनुपर्योस।
नेपाली विद्यार्थीहरु भारत, बङ्गलादेश र अष्ट्रेलिया लगायत विभिन्न देशमा अध्ययन गर्न गएका आज नेपाल सरकारलाई उद्धार गरिदिन अपिल गरिरहेका छन्। भारत र बंगलादेशमा रहेका विद्यार्थीको अवस्था नाजुक हुँदै गइरहेको छ। उनीहरु आर्थिक, मानसिक, शारीरिक तथा स्वास्थ्य सम्बन्धी समस्याबाट गुज्रिँदा पनि सम्बन्धित देशका राजदूतावासले समस्या समाधान त परै जाओस्, गुनासो सुन्न पनि तयार नरहेको अवस्था भएको विद्यार्थीहरु बताउँछन्।
राजदूतावास र परराष्ट्र मन्त्रालयबाट ठाडै 'कसैलाई पनि नेपाल आउन नदिने' जस्ता संवेदनहीन वक्तव्य बाहिर आएको पाइन्छ। नेपाली जनताको ट्याक्सले नेपाल सरकारले आफ्नो देशमा फर्किन चाहने नेपालीलाई ल्याउन मिल्दैन भन्नु अमानवीय मात्र नभई मानवता विरुद्ध अपराध हो। यदि यो समयमा एक जना विद्यार्थीको पनि मृत्यु भयो भने यसको जिम्मेवारी नेपाल सरकारको हुन्छ। विद्यार्थीहरु गुहारेको १ महिना भन्दा बेसी भइसक्दा पनि सरकारले हालसम्म कुनै पनि योजना नबनाउनुले विद्यार्थीप्रति सरकारको उदासिनता र मनसाय प्रस्ट देखिन्छ।
यदि नेपाली विद्यार्थीहरु आफ्नो देश फर्किन चाहन्छन भने सरकारले तत्काल कार्ययोजना बनाएर सबैलाई फर्काउने वातावरण तुरुन्त बनाउनुपर्छ। यदि नेपाल सरकार प्रक्रिया अगाडि बढाउँछ भने विद्यार्थीहरु यातायात खर्च पनि आफैं व्यहोर्न तयार छन्। नेपाली विद्यार्थीहरु ल्याउँदा केही अप्ठेरो हुँदैन।
सरकारले सीमा र हवाई अड्डामा र्या।पिड टेस्टिङ किट प्रयोग गरेर कोरोना पोजिटिभलाई कोरोना निर्धारित अस्पतालमा उपचार सुरु गर्नुपर्छ। यदि टेस्टपछि कोरोना नेगेटिभ आयो भने होम क्वारेन्टाइनमा राख्नुपर्छ गाइडलाइन तयार पारेर। यसमा सरकारलाई र्या्पिड टेस्टिङ किट र कोरोना पोजिटिभ भएकाको मात्र खर्च बहन गर्नुपर्छ, सस्तो पनि हुन्छ यो तरिका।
अब हामीले पोस्ट कोरोना कालमा बस्ने तरिकाको बारेमा पनि सोच्नुपर्छ। जनतालाई लकडाउन खुलेपछि पनि सामाजिक दूरी कायम राख्ने र मास्क प्रयोग गर्ने जस्ता न्यून मापदण्डमा बस्नुपर्ने व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ। अन्तत: नेपाली जनतालाई नेपाल नफर्काउने जस्ता बयान आपराधिक मानसिकता झल्किने खालको देखिन्छ। तसर्थ नेपाली विद्यार्थीहरुलाई अबिलम्व फिर्ता ल्याउने कार्य सुरु गरियोस्।