जगदिश बुढा
जुम्ला- कर्णाली प्रदेश सरकारले कोराना भाइरसको प्रतिकार्य रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन १० वटै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। हिमाली जिल्लामा एयर लिफ्टिङ गरेर चिकित्सक पठाइरहेको सामाजिक विकासमन्त्री दल रावल बताउँछन्।
कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको हो। सामाजिक विकासमन्त्री रावलका अनुसार प्रदेश सरकारले शनिबार डोल्पामा स्वास्थ्यकर्मी पठाइसकेको छ भने आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक टोली पठायएको छ। उनीहरुलाई एक महिनाका लागि पठाएको हो।
सामाजिक विकासमन्त्री रावल आफैँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको टोली लिएर हुम्ला पुगेका छन्। ‘डोल्पामा चिकित्सकको टोली पठाइसकेका छौं,’ मन्त्री रावलले भने, ‘मुगुमा सोमबार पठाउने तयारी गरिरहेका छौं। जुम्लामा टोली पुगिसकेको छ।’
भौगोलिक रुपमा सुगम र सडकले जोडिएका जिल्लामा भने स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली पठाइएको छ। प्रतिष्ठान र प्रदेश अस्पतालका चिकित्सकहरुको टोलीलाई २७ स्थानमा खटाएको मन्त्री रावलले जानकारी दिए।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक रिता भण्डारी (जोशी) सहितको टोलीले आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेर त्यहाँको जनशक्ति, सेवा प्रवाह, पिसिआर मेसिन, भेन्टिलेटर, आइसियु र आइसोलेसन कक्षासहित सिंगो भौतिक संरचनाको अनुगमन गरेको गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।
टोलीले प्रतिष्ठानका पदाधिकारी र जुम्लाका आठ वटै स्थानीय तहका प्रमुखहरुसँग बसेर कोरोना प्रतिकार्य, रोकथाम, नियन्त्रण, उपचार तथा राहत कार्यक्रमका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ।
प्रदेश सरकारले तोकेको २७ स्थानका साथै यहाँका ७१८ वडामा डाक्टर टोली खटाउने, प्रत्येक वडाका १० जनाको स्वाब लिएर नमूना परीक्षण गर्ने, कोरोना नदेखिएको ठाउँमा लकडाउन खुकुलो गरेर सबै खाले गतिविधि सञ्चालन गर्ने र देखिएको स्थानलाई सिल गर्ने जनाएको छ। प्रदेशमा बाहिरबाट आउन नदिन बन्दाबन्दीलाई कायम राख्ने प्रदेश सरकारले जनाएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले तत्कालिन कर्णालीका पाँच जिल्लामा टोली खटाएको छ। हुम्ला, जुम्ला, मुगु र कालिकोटमा टोली परिचालन गरेको हो। टोलीले एक हप्ता भित्र सबैको स्वाब संकलन गर्ने छ।
सबैको रिर्पोट नेगेटिभ आएको खण्डमा कर्णालीमा लकडाउन खुल्ने तयारी भइरहेको छ। पन्ध्र दिनमा १० हजार कर्णालीबासीको पिसिआर परिक्षण गर्ने तयारी भइरहेको छ। कर्णालीका जुम्ला र सुर्खेतमा गरेर तीन वटा पिसिआर मेसिन छन्।