जुम्ला- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै कर्णालीबासी मिलेर कोराना भाइरस विरुद्धको युद्ध जित्नु पर्ने बताएका छन्। कोराना भाइरसको संक्रमण कर्णालीमा नदेखिएको बताउँदै उनले अझै मर्यादित रुपमा कोराना भाइरस विरुद्ध गरिएको लकडाउनको पूर्ण पालना गर्न निर्देशन दिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोराना भाइरस विरुद्ध भइरहेको पूर्वतयारीको अनुगमन गर्न पुगेका मुख्यमन्त्री शाहीले लकडाउनको पूर्ण पालना गर्दै कोराना भाइरस विरुद्धको अभियानलाइ निष्कर्षमा पु¥याउनु पर्नेमा जोड दिए।
कोराना भाइरसले कर्णालीमा पार्ने प्रभाव न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकार निकै चनाखो भएर लागि परेको मुख्यमन्त्री शाहीले बताए। उनले भने, ‘कोराना संक्रमण नफैलियोस् भन्नका लागि सबैभन्दा पहिले लकडाउन गर्ने कर्णाली प्रदेश बन्यो। अत्यन्तै सावधानी अपनाएकै हो। जो जहाँ छ, त्यहीं व्यवस्थापन गर्ने नीति लिएकै हो। तर त्यो पूर्ण रुपमा कार्यन्वयन गर्न सकेनौँ।’
मुख्यमन्त्री शाहीले अब बाहिरबाट कर्णाली प्रदेशमा प्रवेशमा कडाइ गर्ने बताए। ‘संक्रमित हाम्रो प्रदेशमा छन्। टोलटोलमा पुगेका छन् भन्ने मानसिकता बनाउन जरुरी रहेकको छ’, मुख्यमन्त्री शाहीले थपे, ‘कर्णाली प्रदेशका ७ सय १८ वडामा स्वास्थ्यकर्मी परिचालन भइसकेका छन्। कम्तीमा एक वडाबाट १० जनाको स्वाब परीक्षण गर्नु भनेर निर्देशन दिएका छौँ। कर्णालीका २७ स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ।’
स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर परीक्षण गर्ने छन्। जुन जिल्लामा देखियो त्यो जिल्ला सिल हुनेछ। जुन पालिकामा देखियो त्यो पालिका लक गरिनेछ। जुन वडा तथा गाउँमा देखियो त्यो क्षेत्र पूर्णरुपमा बन्द गरिनेछ। कोराना संक्रमण नदेखिएको क्षेत्रमा लकडाउन खोलिने नीति कर्णाली प्रदेशले लिनेछ। एक सातासम्म सबै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गर्ने र स्वाब परीक्षणको काम सकाएर नतिजाका आधारमा लकडाउन खोल्ने या बन्द गर्ने निष्कर्षमा पुगिने मुख्यमन्त्री शाहीले बताए।
उनले अब पैदल मार्गबाट आउनेलाई रोजगारीमा जोड्न आग्रह गरे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोराना भाइरसको संक्रमण हुन नदिन गरिएको प्रयास निकै प्रसंशनीय रहेको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘प्रतिष्ठानलाई कर्णाली सरकारले नीति, बजेट र कार्यक्रममा सक्दो समेट्ने छ।’