बैतडी- सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा स्क्रब टाइफस र औलोका बिरामी फेला पर्न थालेका छन्। पछिल्ला केही वर्षयता बैतडी जस्ता पहाडी जिल्लामा पनि औलोका बिरामी देखिन थालेका हुन्। एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट हुने औलो ज्वरोका बिरामी यो वर्ष पनि देखिन थालेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।
जिल्लाको शिवनाथ गाउँपालिका–२ जोलापानीकी ६ वर्षीया अस्मिता साउदमा औलो रोग भएको पुष्टि भएको छ। केही दिनअघि ज्वरो आएकी साउँदको परीक्षण गर्दा औलो देखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र महताले बताए। साउदको अहिले उपचार भइरहेको छ। एकजनाको औलो देखिएपछि उनका घरपरिवारका अन्य सदस्यहरुको औलो परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ। पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले सुत्ने बेला झूलको प्रयोग गरेर सुत्ने, घर वरिपरिको वातावरण सफा राख्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।
यस्तै बैतडीको दशरथचन्द नगरपालिका–६ का एक ४८ वर्षीय पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ। ती पुरुषमा अत्यधिक ज्वरो आउने भएपछि धनगढीको माया मेट्रो अस्पतालमा चेकजाँच गर्दा स्क्रब टाइफस पुष्टि भएको हो। माइटका कारण सर्ने यो रोगबाट गत साल बैतडीमा ४० भन्दा बढी सङ्क्रमित भएका थिए। रासस