कपिलवस्तु- कपिलवस्तुको मायादेवी गाउँपालिकाको तिर्थादेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई तनाव कम गर्ने योगाभ्यास सिकाइएको छ।
सो क्वारेन्टाइनमा बसेका पाँच व्यक्तिलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले सो क्वारेन्टाइनमा संगै बसेका व्यक्तिलाई कोरोना संक्रमण भएपछि उत्पन्न डर र तनाव देखिएपछि तनाव व्यवस्थापन गर्न सहयोग गर्ने सुक्ष्म व्यायाम, योगासन, प्राणायाम, ध्यान, हास्यासन सहितको ४५ मिनेटको अभ्यास गराएको हो।
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा विजय भुर्तेल, कविराज हरि खनालसहितको टोलीले तनाब कम गर्न योगाभ्याससँगै रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो चुर्ण, आमलकी चुर्णलगायतका आयुर्वेद औषधि वितरण गरेको थियो। त्यसका लागि मायादेवी गाउँपालिका र पकडी आयुर्वेद औषधालयले समन्वय गरेको थियो।
सो क्वारेन्टाइन ६५ जना व्यक्ति रहेका छन्। कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख भुर्तेलले जिल्लाका सबै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा स्वास्थ्य प्रवर्द्धनात्मक उपाय निरन्तर रुपमा गरिने बताए।
हालसम्म मायादेवी गाउँपालिकासहित शिवराज र बुद्धभूमि नगरपालिकामा सम्पन्न गरिसकेको उनले जानकारी दिए।