काठमाडौं- स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले नर्सहरुको क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको प्राथमिकतामा रहेको जनाएको छ ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा महाशाखाले नर्सहरुको क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाका लागि नेपाल नर्सिङ परिषदलगायत अन्य निकायसँग समन्वय र साझेदारीमा काम गरिरहेको जनाएको हो।
विश्व नर्सिङ दिवसका अवसरमा महाशाखाले प्रेस विज्ञप्ति जारी गर्दै गुणस्तरीय नर्सिङ सेवाका चुनौतीहरु, नर्सिङ कर्मचारी माथि हुने विभेद जस्ता समस्या समाधानका लागि आफुहरु प्रतिवद्ध रहेको उल्लेख गरेकाे छ।
महाशाखाले केमोथेरापी दिनुपर्ने क्यान्सरका बिरामी, भेन्टिलेटरमा हुने बिरामीको स्याहार तथा डायलाइसिस गर्नुपर्ने मिर्गौला रोगीको हेरचाहका लागि नर्सिङ केयर प्रोटोकलको तयारी गरेको छ। यस्तै, घरमा दिइने स्वास्थ्य सेवाको मापदण्ड तथा कार्यविधि, मिडवाइफ परिचालनको लागि कार्यविधि र विद्यालय स्वास्थ्य तथा नर्सिङ्ग सेवा सञ्चालन निर्देशिका तयार गरेको महाशाखाले जनाएको छ।
आगामी दिनमा विशिष्टकृत नर्सिङ्ग सेवाको शुरुवात, मातृ स्वास्थ्यको लागि सामुदायिक नर्स परिचालन, घरमा दिइने स्वास्थ्य सेवाको संस्थागत दर्ता तथा अनुगमन, मितव्ययीताको लागि नसर्ने रोगहरुको कार्यक्रम नर्सको नेतृत्वमा रहने व्यवस्था, नर्सहरुको क्षमता अभिवृद्धिको लागि इ–लर्निङ्ग लगायतका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिएको छ।
नेपाल नर्सिङ परिषदमा ९५ हजार भन्दा बढी नर्स दर्ता छन् । महाशाखाका अनुसार ३३ हजार ७ सय २४ अनमीले नर्सिङ सेवा प्रदान गरिरहेका छन्। झन्डै २ सय ६० संस्थाहरुले नर्सिङ अध्यापन गराउँदै आएको महाशाखाले जनाएको छ।