धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले लकडाउनको समयमा बिरामीलाई स्वास्थ्य सेवा पु¥याउने भन्दै टेलिमेसिन सेवा सुरु गरेको छ।
प्रतिष्ठानले पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गर्दै टेलिमेडिसिन सेवा सुरु गरेको हो। लकडाउनका कारण सर्वसाधारण स्वास्थ्य सेवाबाट बञ्चित नहोस् भन्दै टेलिमेडिसिन सेवा सुरु गरिएको प्रतिष्ठानका प्राडा ज्ञानेन्द्र गिरीले बताए।
उनले भने, ‘जनताले घरमै बसेर अनलाइनमार्फत सेवा लिन सकून् भनेर टेलिमेडिसिन सेवा सुरु गरिएको हो। यसले लकडाउनका कारण अस्पतालसम्म आउन नसकेका बिरामीलाई सहजता हुनेछ।’
प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले अस्पतालमा संक्रमणको जोखिम उच्च हुने भएकाले टेलिमेडिसिन सेवा प्रभावकारी हुने बताए।
ई लर्निङ र टेलिमेडिसिन प्रोग्राम अन्तर्गत सञ्चालन भइरहेको यो सेवा कोभिड–१९ को जोखिमयुक्त समयमा बिरामीले घरमै बसेर चिकित्सकहरूसँग प्रत्यक्ष संवाद गरी स्वास्थ्य सेवा, परामर्श लिन सक्ने अस्पतालले जनाएको छ।