काठमाडौं- विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३ लाख २ हजार ४ सय ५२ छ।
मृत्यु हुनेहरुको देशमा अमेरिकामा सबैभन्दा माथि छ। त्यहाँ ८५ हजार ८ सय १३ को मृत्यु भइसकेको छ। त्यस्तै, बेलायतमा ३३ हजार ६ सय ९३, इटालीमा ३१ हजार ३ सय ६८, फ्रान्समा २७ हजार ४ सय २८ को मृत्यु भइसकेको छ।
यसैबीच, विश्वभर ४४ लाख ४३ हजार ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिएको देशको सूचीमा पनि अमेरिका नै अग्रस्थनमा छ। त्यहाँ १४ लाख १६ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ५२ हजार २ सय ४५, बेलायतमा २ लाख ३४ हजार ४ सय ३९, स्पेनमा २ लाख २९ हजार ५ सय ४०, इटालीमा २ लाख २३ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर १५ लाख ८८ हजार ३ सय ६५ जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २लाख ४६ हजार ४ सय १४ जना संक्रमणमुक्त भइसकेका छन्। जर्मनीमा १ लाख ५० हजार ३ सय, स्पेनमा १ लाख ४३ हजार ३ सय ७४, इटालीमा १ लाख १५ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा भने २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भएका छन्।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर उच्च दरमा बढ्दै गएको छ। बिहीबारमात्रै झण्डै चार हजार नयाँ संक्रमित थपिएका छन्।
बिहीबार भारतमा तीन हजार नौ सय ४२ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै त्यहाँ संक्रमितको संख्या ८१ हजार ९ सय ९७ पुगेको छ।
गएको २४ घण्टामा त्यहाँ कोरोना संक्रमणका कारण ९८ जनाले ज्यान गुमाएका छन्। भारतमा अहिलेसम्म मृतकको संख्या २ हजार ६ सय ४९ पुगेको छ।
अहिलेसम्म त्यहाँ २७ हजार ९ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् भने ५१ हजार ३ सय ७९ जना उपचारको क्रममा छन्।