काठमाडौं- भारतमा कोरोना भाइरस संक्रमितको संख्या चीनमा भन्दा बढी पुगेको छ। भारतमा गत २४ घण्टामा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यसैसँगै भारतमा शनिबार बिहानसम्म संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
चीनमा संक्रमितको संख्या ८४ हजार ३८ रहेको छ। मृतकको संख्या भने चीनमा बढी छ। चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।
भारतमा शुक्रबार एकै दिनमा १०३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। योसहित भारतमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या २ हजार ७५२ जना पुगेको छ।
भारतमा संक्रमणबाट निको भएका बिरामीको संख्या ३० हजार १५२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ। भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५३ हजार ३५ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन्।
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन्। यहाँमात्र २९ हजार १०० नागरिक कोरोना भाइरस संक्रमित रहेका छन्। भारतमा कोरोना भाइरस संक्रमणका ४० प्रतिशत महाराष्ट्रका नागरिक रहेका छन्। महाराष्ट्रमा ६ हजार ५६४ व्यक्ति निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाट १ हजार ६८ जनाको मृत्यु भएको छ।
महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ। त्यहाँ १० हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्। गुजरातमा ९ हजार ९३१ संक्रमति रहेका छन्। दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार ९३१ पुगेको छ।
संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो। भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो। दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो। दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो प्रधान मन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन गर्ने बताएका छन्।