दाङ- तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा आज १३ जनाको उपचार भइरहेको छ। उक्त अस्पतालमा दाङका दुई, कपिलवस्तुका तीन र बाँकेका आठ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी दिए। शुक्रबार पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका दाङका दुईसहित कपिलवस्तु र बाँकेका गरी १३ जनालाई उपचारका लागि गए राति अस्पतालमा ल्याइएको हो।
दाङ गढवा—४ का ३६ वर्षीय युवक भारतको गोरखपुर र वडा नं ५ का २३ वर्षीय युवक मुम्बईबाट आएका गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए। दुवैलाई कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेका छुट्टाछुटै क्वारेन्टिनबाट गढवा गाउँपालिकाले एम्बुलेन्सबाट सीधै क्वारेन्टिना लगेका पनि गाउँपालिकाका अध्यक्ष यादवले बताए।
संक्रमित दुवै भारतमा मजदूरी गरेर फर्किएका हुन्। त्यस्तै तुलसीपुर—७ का ३४ वर्षीय पुरुषमा पनि शुक्रबार नै कोरोना पुष्टि भएको छ। उनी स्वास्थ्यकर्मी रहेको र काठमाडौँमा उपचार भइरहेको छ। रुपन्देही र बाँके जिल्लाका कोरोना अस्पतालमा बिरामीको चाप बढेपछि उनीहरुलाई बेलझुण्डी अस्पताल ल्याइएको थियो।
एम्बुलेन्स चालक क्वारेन्टिनमा
घोराही– कोरोना परीक्षणमा कोरोना पुष्टि देखिएका गढवा गाउँपालिकाका दुई पुरुषलाई बोक्ने दुई एम्बुलेन्स चालकलाई पनि आजदेखि गढवा गाउँपालिकाले क्वारेन्टिनमा राखेको छ। पालिका अध्यक्ष सहजराम यादवका अनुसार कृष्णनगरबाट गढवा र गढवाबाट लमही अस्पतालसम्म बोकेर लैजाने दुवै एम्बुलेन्स चालकलाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टिनमा राखिएको हो। रासस