काठमाडौं- शुक्रबार राति ८:१५ मा स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक विवरणमध्ये कोरोना भाइरस संक्रमितमा दाङ तुलसीपुर-७ का ३४ वर्षीय एक पुरुष पनि समावेश थिए।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसारको व्यक्ति खोज्दै जाँदा तुलसीपुर नगरपालिकाले माथिको विवरण भएको व्यक्ति पत्ता लगायो, जो त्रिवि शिक्षण अस्पतालमा काम गर्ने कर्मचारी थिए।
तुलसीपुर नगरपालिका मेयर घनश्याम पाण्डेले यही विवरण यकिन गरेर सामाजिक सञ्जाल मार्फत् सूचना जारी गरे, 'तुलसीपुर ७ का भनिएका कोरोना संक्रमित व्यक्ति काठमाडौंको एक अस्पतालमा कार्यरत रहेको र काठमाडौंमै भएको जानकारी गराइन्छ।' यही सूचना पछ्याउँदै सञ्चारमाध्यमले शिक्षण अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पाइएको समाचार लेखे।
उमेर र ठेगाना मिलेपछि यता ती कर्मचारी पनि त्रासमा रहे । किनभने स्वाव परीक्षण उनको पनि भएको थियो। तर, शनिबार शिक्षण अस्पतालले प्रेस बिज्ञप्ति जारी गर्दै आफ्ना कोही कर्मचारी संक्रमित नरहेको बतायो। त्यसपछि नगरपालिकाले यसबारे थप विवरण खोज्यो। खोज्ने क्रममा स्वास्थ्य मन्त्रालयले गलत विवरण दिएको पाइएको पाण्डे बताउँछन्।
उनले भने, 'मन्त्रालयले गलत विवरण दियो। उक्त विवरणअनुसार आफू संक्रमित भएको भन्दै ती कर्मचारी तनावमा थिए। विवरण गलत भएको जानकारी बल्ल पाए।'
भएको के थियो ?
मन्त्रालयले विवरण गलत सार्वजनिक गरेको शनिबार दिउसो मात्रै थाहा भयो। तुलसीपुर नगरपालिकाका मेयर पाण्डेका प्रेस सल्लाहकार वसन्त आचार्यका अनुसार मन्त्रालय ती संक्रमितको नामको केही भाग अस्पतालका ती कर्मचारीसँग मिल्दोजुल्दो भएकाले मन्त्रालय झुक्कियो।
मेयर पाण्डेका अनुसार कोरोना पोजेटिभ देखिनेमा शिक्षण अस्पतालका कर्मचारी होइन, त्यहाँ आफन्तको उपचारका लागि पुगेका व्यक्ति रहेछन्। उनी दाङ तुलसीपुर ७ का नभइ ४ का रहेछन्। उमेर ३४ होइन, ४६ रहेछ। त्यसैले मन्त्रालयले झुक्किएको रहेछ। मेयर पाण्डे भन्छन्, 'मन्त्रालयले कोरोना पोजेटिभको उमेर र ठेगाना फरक पार्दा हामी पनि झुक्कियौं।'
मन्त्रालयको गलत सूचनाले कन्ट्र्याक्ट ट्रेसिङका लागि तयार स्थानीय तह पनि शनिबार दिनभर अलमलियो। शनिबार साँझ मात्रै उनको परिवारकहाँ पुगेर र्याापिड टेस्ट गरिएको छ। 'चैत महिनादेखि नै काठमाडौंमा बसेर फुपाजु नाता पर्ने आफन्तको उपचार गराइरहेकाले परिवारमा हुने सम्भावना कम छ,' प्रेस सल्लाहकार आचार्य भन्छन्।
अस्पतालले किन लुकायो विवरण?
मन्त्रालयले विवरण गलत दिँदा स्थानीय आतंकित भए। सञ्चारमाध्यम पनि झुक्किए। यही बीच आएको शिक्षण अस्पतालको विज्ञप्ति आयो आफ्ना कर्मचारी संक्रमित होइनन् भनेर। यसले प्रश्न उब्जायो, 'संक्रमित दाङमा छैनन्, अस्पतालका कर्मचारी हैनन्। त्यसो भए को हुन् र कहाँ छन्?'
अरुको मात्रै खोट देखाउने प्रवृत्तिको शिकार शिक्षण अस्पताल पनि भयो। उसले मिडियाले हतार गरेर गलत सूचना प्रवाह गरेको भन्दै खण्डन गर्योअ। विज्ञप्तिमा पत्रकारिताको विश्वसनियता चिन्ता समेत गरिएको छ। तर, आफैं यथार्थ विवरण दिने कर्तव्यबाट भने चुकेको छ। त्यहाँ संक्रमित एक बालिकाको बारे प्रस्तुत गर्दा आफन्तको उपचारका लागि अस्पताल पुगेका ती व्यक्तिबारे बोलिएको छैन। दुवै संक्रमित शिक्षण अस्पतालकै आइसोलेसन वार्डमा उपचाररत रहेको बुझिएको छ।
हालसम्म स्वास्थ्य मन्त्रालयले समेत यो विवरण सार्वजनिक रुपमा सच्याउने कष्ट उठाएको छैन। आफ्नो गलत विवरणले समाजमा फैलाएको त्रासको दोष अरुमाथि थोपर्न सक्रिय भएर लागेका छन् स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सचिवालय सदस्यहरु।
नोट: स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको गलत विवरणका आधारमा शुक्रबार राती समाचार प्रकाशित गर्दा अन्यथा हुन गएकोमा क्षमा चाहन्छौं।