काठमाडौं- कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार २ सय ८० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म कोरोनाको आंशकामा परीक्षण हुने नमूनाको संख्या १ लाख ७ हजार २ सय ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३२ हजार ६ सय ४ जनाको पिसिआर र ७४ हजार ६ सय ४९ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
मन्त्रालयले काठमाडौंको विभिन्न क्षेत्रमा गरी १ हजार १९ जनाको पिसिआर र २ हजार २ सय ३६ जनाको आरडिटिबाट कोरोना परीक्षण गरेको छ। मन्त्रालयका अनुसार कालीमाटीमा ३ सय ३४, विभिन्न सरसफाई क्षेत्रमा २ सय ६७, गोगंबुमा १ सय ७२ र भृकुटीमण्डमा २ सय ४६ जनाको पिसिआर गरिएको छ। जसमध्ये गोगंबु र भृकुटीमण्डमा गरिएको पिसिआरको परीक्षण हुँदैछ भने कालीमाटी र सरसफाई क्षेत्रमा गरिएको परीक्षण नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।
कोशी अस्पतालमा भर्ना भई उपचारपछि झापाका एक व्यक्ति मंगलबार डिस्जार्च भएका छन्। यो सँगै डिस्जार्च हुनेको संख्या ३७ पुगेको छ। हालसम्म संक्रमित व्यक्तिको अस्पताल बसाई औसतमा १९ दिन रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए।
परीक्षणको दायरा बढाउने भन्दै मन्त्रालयले अब तोकिएको सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क पिसिआर परीक्षण गर्न सकिने भएको छ। ती स्वास्थ्य संस्थाले आफ्नो मापदण्ड अनुसार पिसिआर परीक्षणको शुल्क निर्धारण गर्ने मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी कुल ४ सय ५७ जना अस्पतालको आईसोलेसनमा छन्। मुलुकभर हाल २१ ह्जार ६ सय २३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।