दीपा पौडेल
प्युठान- कोरोना परिक्षणका लागि सहजता ल्याउने उद्देश्यले प्युठान जिल्लामा रहेका प्रयोगशालाकर्मीहरुलाई प्रशिक्षित गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा जिल्लामा रहेका १६ जना प्रयोगशालाकर्मीहरुलाई जिल्लामा र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडिटी) र स्वाब संकलन कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरि जानकारी गराइएको कार्यक्रममा सहभागी प्रयोगशालाकर्मी बोम बहादुर परियारले जानकारी दिए।
कोरोना भाइरस सम्बन्धी नमुना संकलन गर्न कन्ट्रयाक्ट टे«सिङ, केस अनुसन्धान, आरडिटी परीक्षण, नोजल र ओरल स्वाब संकलन, महामारी तथा विपद व्यवस्थापन कार्यमा थप सहजता ल्याउनका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए।
जिल्लामा अहिलेसम्म कोरोना भाइरस संक्रमित नभएता पनि पछि कुनै समस्या आउन सक्ने तर्फ सजगता अपनाउँदै समस्या समाधानका लागि प्रयोगशालाकर्मीको अभाव हुन नदिनका लागि तयारी गरिएको सुवेदीको भनाइ छ।
नागरिकको समस्यामा आफूहरु आवश्यक परे रातदिन खट्न तयार रहेको जिल्ला अस्पताल प्युठानका प्रयोगशाला प्रमुख डोर बहादुर खड्काले बताए। कार्यक्रमको सहजीकरण समेत गरेका खड्काले अहिलेसम्म जिल्लामा नाकबाट स्वाब संकलन गर्ने गरेको बताए। जिल्लामा अहिले भन्दा आगामी दिनहरुमा अझ जोखिम बढ्न सक्ने भएकाले सुरक्षित रुपमा पिपिईको प्रयोग गरि काम गर्न सबै प्रयोगशालाकर्मीलाई आग्रह गरे।
विपदको बेला नागरिकको समस्यामा राज्यले आफूहरुको आवश्यकता महसुस गरेमा २४ सै घण्टा सेवा दिन तयार रहेको फोर्टिनाइन मल्टी टेक्निकल इन्स्टिच्युटका ल्याब संकायका संयोजक तथा मेडिकल ल्याब्रोटरी एसोशियन अफ नेपाल प्युठानका अध्यक्ष बिनोद केसीको भनाइ छ।