काठमाडौं- बारामा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई) लाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका एसपी कृष्ण पंगेनीले उनलाई कारोना संक्रमण देखिएको पुष्टि गरे।
सर्लाही घर भएका ४९ वर्षीय सई बारामा कार्यरत थिए। कोरोना संक्रमण देखिएपछि उनको कलैया अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।
यसअघि बारामै कार्यरत मुद्दा शाखाका एक जवानमा कोरोना देखिएको थियो। उनको अवस्था सुधार भइरहेको र एक दुई दिनमै स्वाब परीक्षणका लागि पठाइने र नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी भइरहेको पंगेनीले नेपाल लाइभलाई बताए।
योसँगै अहिलेसम्म ८ जना प्रहरी कोरोना संक्रमित भएका छन्। जसमा महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौंका एक सई र एक जवान, कपिलवस्तुमा कार्यरत एक सई र एक हवल्दार, बारामा एक जवान र एक सई र धनकुटामा एक र बाँकेमा एक गरी ८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तीमध्ये कालिमाटीका दुई जनाको सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको सम्बन्धित जिल्लामै उपचार भइरहेको छ।