काठमाडौं- सरकारले सात प्रदेशमा रहेका पेट्रोलियम डिपो, टर्मिनल तथा ग्यास बुलेट मार्फत ढुवानी गर्नेहरु सबैको कोरोना परीक्षण गर्नका लागि व्यवस्था मिलाउन नेपाल आयल निगम लिमिटेडलाई पत्राचार गरेको छ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले सातै प्रदेशमा रहेका डिपोहरुमा पिसिआर परीक्षण गर्नका लागि व्यवस्था मिलाइदिन परिपत्र गरेको हो।
नेपाल आयल निगमका विभिन्न डिपो, टर्मिनलहरु तथा ग्याँसका बुलेटहरु मार्फत ढुवानी गर्ने व्यक्तिहरुको कोभिड १९ परीक्षण गर्न कोभिड१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले महाशाखालाई पत्राचार गरेको थियो। काठमाडौं, लिलितपुर र भक्तपुरमा कार्यरतहरुको भने परीक्षण भइसकेको महाशाखाले जनाएको छ।
सोहि अन्तर्गत महाशाखाले महामारी शाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रुाद पौडेल, ल्याब टेक्निसियन अधिकृतहरु डबलबहादुर बिसी र भोला अधिकारीसहितको टोलीले आयल निगम थानकोट डिपोका १३९ जना व्यक्तिको समेत आइतबार नमुना संकलन गरेको थियो।
पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर चलाउने नेपाली भारतीय चालक, सहचालक, एलपी ग्याँस बोक्ने चालक,सहचालक, आयलनियमका कर्मचारीलगायत १३९ जनाको नमुना संकलन गरिएको हो।
