काठमाडौं- गुल्मी धुर्कोट गाउँपालिकका अध्यक्ष भुपाल पोख्रेलले आफू कोरोना संक्रमित भएको भन्दै गाउँपालिका मानिसलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
धुर्कोट गाउँपालिकाका अध्यक्ष पोख्रेलले आफूलाई कोरोना सक्रमण पुष्टि भएको भन्दै सबै गाउँका मानिसलाई हिम्मत राखीराख्न आग्रह गरेका छन्। गाउँपालिकाको लेटर प्याडमा विज्ञप्ति निकालेर अध्यक्ष पोख्रेलले आफूलाई कोरोना लागेको र यसलाई लुकाउनुपर्ने आवश्यकता नरहेको बताएका छन्।
‘मेरो अवस्था सामान्य रहेको छ, अब एकान्तबासमा बस्दा गाउँपालिकाको विकास र कोरोनाविरुद्ध लड्ने योजना बनाउने लक्ष्य लिएको छु’ उनले भनेका छन्‚ ‘सक्रमणको जोखिमका कारण धुर्कोट गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पूर्णरुपमा बन्द हुनेछ।’ उनले आफू धुर्कोट गाउँपालिकाभन्दा बाहिर सदरमुकाम तम्घासमात्र गएको बताएका छन्।
यो संक्रमणलाई आफूले अवसरको रुपमा लिएको उनले बताए। धुर्कोट गाउँपालिका- ४ का अर्का संक्रमित भारतबाट आएको र पाञ्चायन माविको क्वारेन्टाइनमा रहेको उनले जानकारी गराएका छन्। उनी दीर्घरोगी रहेको गाउँपालिका अध्यक्षले बताएका छन्। गाउँपालिकाको केन्द्र बर्बोटदेखि वडा नम्बर ४ को भुवानसम्मको क्षेत्रलाई सिल गरिएको उनले जानकारी दिएका छन्।
कोरोना संक्रमित गाउँपालिका अध्यक्ष पोख्रेलले आफू संक्रमित भएपनि अरुलाई सतर्क हुन र सामाजिक दूरी अनिवार्य रुपमा कायम गर्न भनेका छन्। परिवारिक हिसाबले कृषि कर्ममा लाग्न उनले सबै गाउँपालिका बासिन्दाहरुलाई आग्रह गरेका छन्।
‘म सम्पुर्ण धुर्कोटबासी बुबा‚ आमा‚ दाजुभाइ‚ दिदीबहिनीहरुलाई धैर्य र संयमित बन्न हार्दिक अपिल गर्दछु’ गाउँपालिका अध्यक्ष पोख्रेलले भने‚ ‘गाउँपालिकाको विकासमा पुनः सक्रियताका साथ अगाडि बढ्ने अठोट गर्दछु।’