काठमाडौं - काठमाडौं युनिभर्सिटी (केयू) स्कुल अफ मेडिकल साईन्सेज फ्याकल्टी काउन्सिलले वैशाखमा कटौती भएको तलब भत्ता फिर्ता गर्न माग गरेको छ।
फ्याकल्टी काउन्सिलले बिहिबार विज्ञप्ति जारी गरी वैशाखमा कटौती भएको तलब भत्ता सम्पूर्ण रुपमा फिर्ता गर्न माग गरेको हो। बिना सूचना आफ्नो तलब भत्ता अन्यायपूर्ण रुपमा कटौटी गर्दा समस्या भएको उनीहरुले बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘बिना सूचना वैशाख २०७७ को हाम्रो तलबभत्ता अन्यायपूर्ण अनि लज्जास्पद रुपमा नै कटौती भएको पाउँदा हामी अत्यन्त मर्माहत हुन पुगेका छौं।’
युनिभर्सिटीका प्रशासनले तलब भत्ता कटौती स्वेच्छिक भएपनि अधिकांशले स्वेच्छिक योगदान नगरेको र कटौटीमा असुन्तुष्टि व्यक्त गरेको काउन्सिलले जनाएको छ। प्रशासनले तलबभत्ता कटौती गर्ने काम तुरुन्त सच्याउन पनि उनीहरुले माग गरेका छन्।