काठमाडैं- दैलेखमा कोरोना भाइरस संक्रमितका लागि आयुर्वेद औषधिहरुको प्रयोग गर्न थालिएको छ।
स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखाका अनुसार नेपाल सरकारद्वारा जारी आयुर्वेद एवम् वैकल्पिक चिकित्साबाट कोभिड-१९ रोकथाम एवम व्यवस्थापन सम्बन्धि निर्देशिका बमोजिम हाल आइसोलेसनमा राखिएका ७ जना संक्रमितहरुलाई आयुर्वेद औषधिको प्रयोग गरिएको बताइएको छ।
'बिरामीहरुको लक्षण र अवस्था अनुसार फरक फरक उपचार गरेका छौँ,' कार्यालय आयुर्वेद शाखाका आयुर्वेद चिकित्सक डा प्रशन्न नेपालले भने, 'अहिले अश्वगन्धा, यष्टिमधु, तुलसी, गुर्जो जस्ता जडिबुटीको प्रयोग गरिएको छ। यिनीहरुको प्रयोग गर्दा बिरामीहरुको उपचारमा थप प्रभावकारी भइरहेको छ।'
त्यसैगरी बिरामीहरुमा देखिएको तनाव व्यवस्थापनको लागी छिट्टै योग र प्राणायम पनि सुरु गरिने उनले बताए।
विभिन्न अनुसन्धानहरुले जडिबुटीहरुले शरीरमा भएको संक्रमण विरूद्ध लड्ने कोषिकाहरु बढाउने एंव विषाणुहरुको वृद्धि रोक्ने देखाएको छ।
भारतमा सरकारले नै कोभिड-१९ मा अश्वगन्धा, पिप्ली, मरिच र जेठीमधुको प्रभावबारे अनुसन्धान सुरु गरेको छ भने आयुर्वेदतर्फ कुल १५ वटा अनुसन्धानहरु भैरहेका छन्। हालसम्म कोरोना भाइरसको लागी कुनै औषधि वा भ्याक्सिन पत्ता लागेको छैन।