जाजरकोट- जिल्लामा भिटिएम नहुँदा कोरोनाको पिसीआर परीक्षण हुनसकेको छैन।
जिल्लामा हालै भारतबाट आएका २६७ जनालाई सदरमुकामस्थित भेरी ज्ञानोदय क्याम्पस र त्रिभुवन माविमा बनाइएका क्वारेन्टिनमा राखिएको छ तर स्वाब सङ्कलनका लागि भिटिएम नहुँदा भारतबाट आएकाहरुको परीक्षण हुनसकेको छैन।
सरकारले भिटिएम नपठाउँदा उनीहरुको स्वाब सङ्कलन हुन नसकेको हो। भिटीएममा शङ्कास्पदको स्वाब सङ्कलन गरी कोरोनाको पिसीआर परीक्षणका लागि सुर्खेत पठाउने गरिएको छ तर किट अभावमा परीक्षण हुनै नसकेको स्वास्थ्यकर्मीको भनाइ छ।
गत ३ चैतदेखि क्वारेन्टिनमा बसेका जुनीचाँदे गाउँपालिकाका दिनेश मगरले अहिलेसम्म परीक्षण हुन नसकेको, दुई हप्ता क्वारेन्टिनमा बस्ने भनिए पनि १३ दिन हुँदासम्म परीक्षण हुन नसकेको बताए।
करिब ५०० को आरडिटी र ७४ जनाको पिसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ तर लकडाउनकै अवधिमा भारतबाट मात्र पाँच हजार मानिस जिल्लामा भित्रिएका छन्।
भारतबाट आएकाको पिसीआर परीक्षण नहुँदा स्थानीय त्रसित बनेका छन्। १४ दिन पुगेपछि लक्षण नदेखिए परीक्षणबिनै पनि घर पठाउन सकिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा सुनिल पुनले बताए। भने, 'किट अभावमा परीक्षणबिनै घर पठाउनुपर्ने बाध्यता आइपरेको छ । माग गरेका छौँ आइपुगेको छैन । आउने बित्तिकै परीक्षण गरेर घर पठाउँछौँ ।'
बारेकोटले परीक्षण थाल्यो
सङ्घीय र प्रदेश सरकारले कोरोना परीक्षणका लागि किट नपठाएपछि जाजरकोटको बारेकोट गाउँपालिकाले आफैँले पहिलो चरणमा ५०० भिटीएम खरिद गरेर स्वाब सङ्कलन थालेको छ। भारतबाट आएकाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने भिटीएम खरिद गरेको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए।
उनले प्रदेश अस्पताल र उनले जिल्ला अस्पतालसँग समन्वय गरेर बिहीबारदेखि स्वाब सङ्कलन थालिएको बताए। अपुग भए पुनः झिकाएर परीक्षण गराउने उनको भनाइ छ । बारेकोटले आफैँले भिटीएम खरिद गरेर परीक्षण थालेपछि जिल्लाका अन्य पालिकाले पनि किट खरिद गर्न थालेका छन्। कुशे र भेरीले पाँच÷पाँच सय भिटीएम झिकाइसकेको बताएका छन्। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।