दीपा पौडेल
प्युठान- पीडामा परेकी प्युठानको गौमुखी गाउँपालिका २ अर्खाकी एक सुत्केरी महिलाको उद्धार गरिएको छ।
बन्दाबन्दीको समयमा २८ दिनको सुत्केरीको आर्थिक अभावमा उपचार हुन नसकेको बिषयमा बन्दाबन्दीले दिएको सुत्केरीको पिडा शिर्षकमा स्वास्थ्यखबरमा समाचार प्रकाशन भएपछि विभिन्न सहयोगी दाताहरुको सहयोगमा उद्धार गरिएको हो।
एम्बुलेन्सको भाडा र खाना खाने पैसा समेत नभएपछि अर्खाकी १९ बर्षिय कामना रानाको उपचारमा समस्या भएको थियो। उनको स्तनमा केहि समस्या भएपनि आर्थिक अभाव लगाएतको कारणले मानसिक समस्या समेत देखिएको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएका छन्।
श्रीमान ज्ञान बहादुर रानाले ज्यामी काम गरेर गुजारा गर्दै आएकी कामनाको आर्थिक अबस्था अत्यन्तै नाजुक देखेपछि जिल्ला अस्पताल बिजुवारमा कार्यरत डा. सुनिल सुनार सहित सम्पुर्ण नर्सहरुको सहयोगमा एकमुष्ट रु ५ हजार ८ सय ५०, कामनाकै वडाका हाल बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका गौमुखी गाउँपालिका अर्खाकै विशाल बुढामगर, सन्तोष थापामगर , राजु थापा , दिपु मगर र खिम रानाले एकमुष्ट रु १३ हजार १ सय ४५ र प्यूठानका निर्माण व्यवसायी शंकर वि.कले रु १४ हजार गरि जम्मा ३२ हजार ९ सय पन्चानब्बे रुपैयाँ हस्तान्तरण गरिएको छ। उनको अवस्थाको बिषयमा समाचार हेरपछि अस्पताल भर्ना अवधिभर खाना खुवाएका होटलले समेत शुल्क नलिई सहयोग गरेका छन्।
आफ्नै गाउँको सुत्केरी महिलाको पीडादायी अवस्थाको बिषयमा जानकारी पाएपछि आफुहरुको खर्च कटौती गरेर सहयोग गरेको मलेसियामा रहेका विशाल बुढामगरले बताए।
२८ दिनको सुत्केरीको यस्तो नाजुक अवस्था देखेर अत्यन्तै मन खिन्न भयो जिल्ला अस्पताल बिजुवारकी नर्सिङ इन्चार्ज राधा के.सीले भनिन्– “हामी सवै नर्सहरुले सक्दो रकम उठाएर सयोग गरेका हौं।यो रकमले पोषिलो खाना किनेर खानु।”
आर्थिक अभावमा पीडादायी दिनहरु गुजार्दै आएकी कामनाले आँखामा टिलपिल–टिलपिल आँसु निकाल्दै सवैलाई धन्यवाद दिइन्। उनका श्रीमान ज्ञान बहादुर खुसीका आँसु झार्दै एक शब्द बोल्न सकेनन्।
कामनालाई जेष्ठ ५ गतेबाट जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। अहिले उनलाई निको हुँदै गएको र केहि समय औषधी खाएपछि पुर्ण रुपमा निको हुने उपचारमा संलग्न डा. सुनिल सुनारले बताए।