म्याग्दी- कोरोना भाइरसको संक्रमणपछि सरकारले सुरु गरेको लकडाउनका कारण स्थगित भएको दादुरा रुबेला विरुद्धको खोप अभियान म्याग्दीमा पुन: सुरु भएको छ।
जिल्लाको धवलागिरी, मालिका र मंगला गाउँपालिकामा लकडाउनकैबीच बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाइएको थियो।
रघुगंगा र अन्नपूर्ण गाउपालिकामा शुक्रबारदेखि सूचारु भएको खोप अभियान बेनी नगरपालिकामा शनिबारदेखि सुरु भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए।
स्वास्थ्य सेवा विभागको निर्देशन अनुसार कोभिड–१९ जिल्ला कमाण्ड पोष्ट र स्थानीय तहहरुसँग समन्वय गरेर अभियान सञ्चालन भएको लम्सालले जानकारी दिए। उनका अनुसार जेठ २१ गते भित्रै लक्षित सबै बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य छ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत २०७६ चैत १० देखि २९ गतेसम्म दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन गर्ने समयतालिका लकडाउनका कारण प्रभावित भएको थियो। अन्य खोप सेवा भने बैशाख दोस्रो सातादेखिनै सुरु भएका छन्।
९ महिना देखि ५ वर्ष सम्मका नौ हजार ३५२ जना बालबालिकालाई सो रोगका विरुद्ध खोप दिने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाभर खोप अभियानमा ३६५ वटा खोप केन्द्रमा ७४० जना खोपकर्ता परिचालन भएका छन्।
दादुरा रुवेला रोगविरुद्ध खोपको पहुँच देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य छ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार देशका २१ प्रतिशत बालबालिका अझै पनि पूर्ण खोपबाट बञ्चित रहेको र एक प्रतिशत बालबालिकामामा खोप पुग्न नसकेको (शून्य डोज) अवस्था छ।
नेपालमा विसं २०३४ मा विफर उन्मूलनपछि खोप थपिदै जाने क्रममा हाल ११ वटा खोप सञ्चालनमा छ। बाल मृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन सरकारले उच्च प्राथमिकता साथ खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता कार्यक्रमभित्र खोप कार्यक्रम रहेको छ ।
सन् २०२३ भित्रमा नेपालबाट दादुरा–रुवेला निवारणको राष्ट्रिय प्रतिबद्धता रहेकाले अभियानको रूपमा खोप कार्यक्रम शुरु गर्न लागिएको हो। देशका केही प्रदेशमा भने अभियान सम्पन्न भइसकेको छ। वि.सं २०७२ मा म्याग्दी र २०७५ भदौमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको थियो।