काठमाडौं - अमेरिकी ग्लोबल ग्याग रुलको प्रभावले नेपालका स्वास्थ्य सेवाहरुमा असर परेको एक अध्ययनले देखाएको छ।
ग्याग रुल भनेको गर्भपतन सेवाको लागि रेफर गर्ने, परामर्श दिने र यस विषयमा वकालत गर्ने गैरसरकारी संस्थाहरुलाई आर्थिक सहायता प्रदान गर्न निषेध गर्ने नीति हो। यही अमेरिकी नीतिका कारण नेपालका स्वास्थ्य सेवाहरुमा असर परेको वातावरण, स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र इन्टरनेशनल वुमेन्स हेल्थ कोएलेसेनले गरेको अध्ययनले देखाएको हो।
ग्लोबल ग्याग रुलले गर्दा गुणस्तरीय यौन तथा प्रजनन् स्वास्थ्य सेवाको पहुँच र प्रजनन् अधिकारमा कमी ल्याएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। अमेरिकी सहयोग नियोग युएसआईडी) ले सहयोग गरेको कार्यक्रम ‘सपोर्ट टु इन्टरनेशनल फ्यामिली प्लानिङ अर्गनाइजेशन प्रोजेक्ट टु’ निर्धारित समयभन्दा अघि सकिदा कार्यक्रम सञ्चालन भएका २२ वटा जिल्लामा परिवार नियोजन सम्बन्धी विभिन्न सेवाहरु बन्द भएका छन्। ती जिल्लाहरुमा सेवाको विस्तारमा कमी हुनुका साथै गुणस्तरमा पनि कमी आएको कृपाले जनाएको छ।
प्रमुख अध्ययनकर्ता एवं कृपाका सह निर्देशक डा महेश पुरीले भने, ‘ग्लोबल ग्याग रुलले यौन तथा प्रजनन् स्वास्थ्य सेवाहरुको गुणस्तर सुधार तथा विस्तार गर्न मात्र नभई दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न र प्राप्त हुँदै गरेको प्रगतिलाई पनि निरन्तराता दिन समेत चुनौती सिर्जना गरेको छ।’
ग्याग रुलले विशेषगरी सिमान्तकृत र सेवाको पहुँच बाहिरका जनसंख्या, स्वास्थ्य सेवा प्रदायकहरुलाई प्रदान गरिने परिवार नियोजन सम्बन्धी तालिम र परिवार नियोजनका साधनहरुको आपूर्तिमा असर पु¥याएको अध्ययनमा उल्लेख छ।
इन्टरनेशनल वुमेन्स हेल्थ कोएलेसेनका नीति तथा वकालत निर्देशक शानन् कोवास्कीले ग्लोबल ग्याग रुलले नेपाल लगायत मध्यम आय भएका देशहरुको स्वास्थ्य क्षेत्रमा गम्भीर प्रभाव पारेको बताइन्। उनले भनिन्, ‘यस नीतिले नेपालको स्वास्थ्य परिणामहरुमा नकारात्मक असर पु¥याउनुका साथै सरकारको स्वास्थ्य सेवाको प्राथमिकतालाई पनि कमजोर बनाइरहेको छ।’
अमेरिकी नीतिको प्रभावलाई कम गर्न आर्थिक सहयोगेको कमीलाई पुरा गरी सेवाको उपलब्धता तथा पहुँचको अन्तरलाई कम पार्दै सीमान्तकृत वर्षहरुमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको विस्तारमा सुधार गनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ।