प्रितम अधिकारी
अहिलेको समय विश्व नै कोरोना भाइरस (कोभिड-१९) को महामारी विरुद्ध लडिरहेको छ। प्रायः सबै देशहरु लकडाउनमा छन्। युरोप अमेरिका जस्ता शक्तिशाली मुलुकहरु नै यो महामारीको चपेटामा बढी परिरहेका छन्।
हजारौं,लाखौंको संख्यामा संक्रमितहरु छन् र दिनदिनै यो संख्या बढिरहेको छ। यहि भाइरसका कारण मृत्यु हुनेको संख्या पनि दिनहुुँ बढ्दै गइरहेको छ। विश्व स्वास्थ संगठनले त यो भाइरसको महामारी नियन्त्रणमा आउन धेरै कठिन रहेको बताउदै आइरहेको छ। साथै हालसम्म पनि यो भाइरस विरुद्ध कुनै भ्याक्सिन र औषधि पत्ता लागेको छैन र पनि कयौं देशका धेरै बैज्ञानिकहरु भ्याक्सिन र औषधिको खोजमा भने लागिसकेका छन् ।
यो महामारीको चपेटामा नेपाल पनि परेको छ, यहाँ दिनदिनै संक्रमणको दर उच्च हुँदै गइरहेको छ। यस्तो अवस्थामा प्रत्येक नेपालीले आ-आफ्नो ठाउँ वा क्षेत्रबाट सरकारले घोषणा गरेका नियमहरु लाई पालना गरि महामारी नियन्त्रणमा सहयोग पुर्याउनु पर्दछ ।
संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा उपचार गर्ने अस्पताल तथा प्रत्यक्ष खटिने जनशक्ति (स्वास्थकर्मी) को पनि उपलब्धता पयार्प्त नहुन सक्छ। यसको लागि सरकारले निजि क्षेत्रसंग समन्वय गरि निजी अस्पताल र त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाइ प्रोत्साहित गरेर प्रयोग गर्न आवश्यक पुर्वतयारी गर्नुपर्ने हुन्छ।
कयौं देशमा अवकाश पाइसकेका चिकित्सकहरु समेत बिरामीको उपचारमा खटिएको हामीले सुन्दै आइरहेका छौं, त्यस्तै हामीले पनि आवश्यक जनशक्ति पुर्ती गर्नका लागी अवकाशप्राप्त चिकित्सक, स्वास्थकर्मी, अध्ययनरत चिकित्सक, अध्ययन बिदामा रहेका स्वास्थकर्मीहरु साथै निजि क्षेत्रमा रहेका जनशक्तिहरुको विवरण तयार गरि आवश्यक परेको बेला जुनसुकै समयमा खटाउन सक्ने ब्यवस्था सरकारले गर्नुपर्दछ।
साथसाथै २४ घण्टा प्रत्यक्ष संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य सम्पुर्ण जनशक्तिहरुको मनोबल उच्च राख्न प्रोत्साहन र आवश्यक सुरक्षाका सामाग्रीहरुको व्यवस्थापन समेत गर्नुपर्दछ।
(हेल्थ असिस्टेन्ट अधिकारी जिल्ला स्वास्थ्य कार्यालय धनकुटा अन्तर्गत कार्यरत छन्)