काठमाडौं - थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल प्रसूति गृह मा उपचाररत एक गर्भवतीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले गर्भवतीलाई कोरोना भाइरस पोजिटिभ देखिएको जानकारी दिएका हुन्।
अस्पतालमा रहेकी ती गर्भवती धादिङकी रहेको बताइएको छ। ३८ हप्ते गर्भवतीको अवस्था सामान्य रहेको छ।
अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार उनलाई ६ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो। सुरुमा ज्वरो र पिसाबको संक्रमण देखिएको थियो। तर उपचारकै क्रममा उनको घाँटीमा समेत समस्या आएपछि स्वाब संकलन गरेर नमुना परीक्षणका लागि पठाइएको थियो। परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण देखिएको हो।
मंगलबार उनीसहित २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार उनीहरु सबैको अवस्था सामान्य रहेको छ।
नेपालमा हालसम्म २०९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये २६६ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमण देखिएका ८ जनाको मृत्यु भएको छ।