काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले जिल्लामा एक महिलासहित पाँच जनामा कोरोना सङ्क्रमण देखिएको आज जनाएको छ।
रोशी गाउँपालिकाका तीन, पाँचखाल नगरपालिकाका एक र पनौती नगरपालिकाका एकमा कोरोना सङ्क्रमण पुष्टि भएकोको कमाण्ड पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए।
'काभ्रेका पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ', उनले भने। उनका अनुसार सङ्क्रमितमध्ये एक महिला हुन्।
सङ्क्रमितमध्ये तीन पुरुष र एक महिला केही दिनअघि मात्रै भारतबाट काभ्रेपलाञ्चोक आएको कमाण्ड पोष्टले जनाएको छ। सङ्क्रमित महिला धुलिखेल अस्पतालमा पित्तथैलीको शल्यक्रिया गर्न आएको र शल्यक्रियाअघि ती महिलाको पिसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको पोष्टले जनाएको छ। उनी पनौती निवासी हुन्।
पाँचखालका सङ्क्रमित क्वारेन्टिन बसाइपछि घर फर्किएका व्यक्ति हुन्। रोशीका तीन सङ्क्रमित भने क्वारेन्टिनमै रहेको जनाइएको छ। सङ्क्रमितको स्वास्थ्य सुरक्षामा विशेष निगरानी भइरहेको प्रमुख डा झाले बताए।
यसअघि यही जेठ १ गते राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरसका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्ेचकी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो। कोरोना भाइरसबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो।
भारतबाट करिब ३०० काभ्रेली स्थानीय तहका क्वारेन्टिनमा बसेका छन्। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएका विदेशिएका काभ्रेलीमध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टिन तथा नसक्नेलाई स्थानीय क्वारेन्टिनमा राख्ने तयारी गरेको छ। भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहँदै आएको कमाण्ड पोष्टको तथ्याङ्कले देखाएको छ। रासस