काठमाडौं - कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार १ सय ११ जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।
नेपालमा हालसम्म २ लाख २९ हजार ९ सय १२ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९२ हजार ४ सय ७७ जनाको पिसिआर र १ लाख ३७ जना ४ सय ३५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
शनिबार ३ सय २३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ। जसमध्ये ३ हजार ३ जना पुरुष र २ सय ३२ जना महिला छन्।
प्रदेश १ मा २ सय ४९, प्रदेश २ मा १ हजार ७७, बागमतिमा ९०, गण्डकीमा ७३, प्रदेश ५ मा १ हजार ६१, कर्णालीमा ५ सय ७९ र सुदूरपश्चिममा १ सय ६ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये ३ सय ६५ जना उपचारपछि डिस्जार्च भएका छन्। मृतकको संख्या १३ पुगेको प्रवक्ता देवकोटाले बताए।
कर्णाली प्रदेशको जाजरकोट र डोल्पामा पनि संक्रमित भेटिएका छन्। यो सँगै संक्रमण देखिएको प्रभावित जिल्लाको संख्या ७० पुगेको छ। मुलुकभर हाल २ हजार ८ सय ५७ जना संक्रमित अस्पतालको आईसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।