काठमाडौं- नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एशोसिएनसन विर्तामोडले कर्मचारीहरुलाई काममा निस्कन दबाब नदिन सम्बन्धित कम्पनीलाई आग्रह गरेको छ।
एशोसिएनसले सोमबार विज्ञप्ति जारी गरी कोरोना महामारीको समयमा आफ्ना कर्मचारीलाई काममा बाहिर निस्कन दबाद नदिन कम्पनीहरुलाई आग्रह गरेको हो। अर्को निर्णय नहुँदासम्म घरमै सुरक्षित रहन एशोसिएसनले भनेको छ।
विभिन्न कम्पनीले काममा निस्कन दिएको दबाबप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको एशोसिएनसनले जनाएको छ। सुरक्षाको प्रत्याभूति नभएसम्म बजारमा नस्किन उसको आग्रह छ।
बजार प्रतिनिधिहरुलाई केही कम्पनीले आधा पारिश्रमिक दिएको प्रति पनि एशोसिएसनले आपत्ति जनाएको छ। महामारीमा औषधिको सहज आपूर्ती गराउन खटिने कर्मचारीलाई पूर्ण पारिश्रमिकको व्यवस्था मिलाउन आग्रह गरेको छ।
देशमा स्वास्थ्यकर्मी माथि भएको आक्रमणप्रति आपत्ति जनाउँदै एशोसिएसनले दोषिलाई कारबाहीको माग गरेको छ।