दीपा पौडेल
प्युठान- स्वास्थ्य कार्यालय प्युठानलाई क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको विराट नेपाल मेडिकल ट्रष्ट ( बिएनएमटी)ले व्यक्तिगत सुरक्षा कबच सहित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
ट्रष्टले ३० सेट पिपिई,३ सय सेट ग्लोभ्स,३ सय पिस सर्जिकल मास्क,५५ लिटर सेनिटाइजर र ६० पिस एन–९५ मास्क स्वास्थ्य कार्यालयलाई सहयोग गरेको हो।
बिएनएमटि नेपालगञ्जका क्षेत्रीय कार्यक्रम प्रबन्धक गंगाराम बुढाथोकीले करिब ३ लाख बराबरको व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीलाई हस्तान्तरण गरेका हुन्।
सामग्री अन्र्तगत कोभिड –१९ को महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र प्रयोगशालाकर्मीहरुलाई विशेष गरि सुरक्षा प्रदान गर्ने उद्देश्यले उक्त सामग्री उपलब्ध गराएको बुढाथोकीले जानकारी दिए।
उनले भने,‘कोभिड –१९ को जोखिममा हामी सबै भएता पनि उनीहरु अत्यन्तै जोखिममा छन। यस्तो बेला स्वास्थ्यकर्मीले मनोबल बढाउनु पर्छ।’
विगत ३ बर्ष देखि प्युठानमा स्वास्थ्य कार्यालय प्यूठानको सहकार्यमा क्षयरोग रोकथाम तथा नियन्त्रण क्षेत्रमा काम गरिरहेको भन्दै उनले पहिलो चरणको कार्यक्रम अन्र्तगत सहयोग गरेको बताए।
दोश्रो र तेश्रो चरणको कार्यक्रम अन्तरगत जिल्लाभर रहेका करिब ३ सय जना उपचाररत क्षयरोगका बिरामीहरुलाई पोषणको अभाव नहोस् भन्ने उदेश्यले खाद्य सामग्री वितरण गर्ने र जिल्लाभरका स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने समेत जानकारी दिए।
स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जिल्लामा आफुहरुसंगको सहकार्यमा क्षयरोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा महत्वपुर्ण सहयोग गर्दै आएका बताए। उनले विपतको समयमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकोमा संस्थालाई धन्यवाद दिए। उनले प्राप्त गरेको सहयोगलाई स्थानीय तहसंगको समन्वयमा आवश्यक ठाउँमा उपयोग गर्ने बताए।