काठमाडौं- राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ) मान्यता प्राप्त गरेको छ। आन्तरिक र बाह्य गुणस्तर सुधार र स्तरवृद्धि गरेको भन्दै प्रयोगशालाले आईएसओ १५१८९ः२०१२ को मान्यता प्राप्त गरेको हो।
आइएसओ मान्यता पाएसँगै प्रयोगशालाको रिपोर्टले अब अन्तर्राष्ट्रिय मान्यता पाउने सूचना अधिकारी राजेश कुमार गुप्ताले बताए। उनका अनुसार मंगलबार स्वास्थ्य सेवा विभागमा कार्यक्रम गरी मान्यता प्राप्त प्रमाण वितरण गरिएको छ। आइएसओको मान्यता पाउने सरकारी अस्पताल र प्रयोगशालामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पहिलो संस्था बनेको छ।
आफुहरुको अथक मेहेनतले आइएसओको मान्यता पाउन सफल भएको प्रयोगशालाकी निर्देशक डा रुणा झाले बताइन्। वर्षेनी यसको नवीकरण हुने भएकाले गुणस्तरलाई अझै प्रभावकारी बनाउँदै जानुपर्ने उनले बताइन्।