सिन्धुपाल्चोक- बलेफी गाउँपालिका–६ मांखामा द्वन्द्वकालमा राखिएको बम भेटिएको छ। वडा नम्बर ६ मा स्वास्थ्य चौकी भवन बनाउनका लागि जग खन्दै गर्दा हिजो नै बम भेटिएको वडाध्यक्ष चित्र लामाले जानकारी दिए। बम भेटिएपछि तत्कालीन अवस्थामा बम राख्ने व्यक्तिले नै यसले केही असर गर्दैन भनेकाले प्रहरीमा खबर नगरिएको स्थानीयले बताएका छन्।
तर फेरि भोलि केही भइहाल्यो भने संकट आउन सक्ने भन्दै केही स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर प्राप्त हुनासाथ आज बिहानै घटनास्थलमा प्रहरी सहायक निरिक्षक चित्र बहादुर खुलालको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो। साथै सशस्त्रको टोली पनि सो स्थानमा पुगेको थियो।
उक्त स्थानमा सुनकोशी हाइडोपावर क्याम लामो साँघुबाट सहायक सेनानीको कमाण्डमा पाँच जनाको टोली पनि खटिएका गएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
उक्त स्थान सुरक्षित राखिएको र बम डिस्पोजका लागि श्री गोरक बक्स गण चौतारा ब्यारेकबाट टोली खटाइएको उनले जानकारी दिए। प्रहरीले शंकास्पद वस्तु फेला परेमा नछोई नचलाई सुरक्षा निकायमा खबर गर्न पनि अनुरोध गरेको छ।
द्वन्द्वकालीन समयमा मांखा तत्कालीन माओवादीको उर्वर भूमिको रुपमा चिनिन्थ्यो। सो ठाउँलाई द्वन्द्वकालमा बम भण्डारण गर्न प्रयोग गरिएको स्थानीय नेकपा कार्यकर्ताले बताएका छन्।