फाइल तस्बिर
काठमाडौं- चिकित्सक माथि आक्रमण गर्ने दोषि पक्राउ परेसँगै नेपाल मेडिकल कलेजका चिकित्सक केही लचिलो भएका छन्।
दोषि माथि कानूनी प्रक्रिया सुरु भएको भन्दै उनीहरुले बिहिबारदेखि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सञ्चालनमा आएको हो। जेठ १४ गते उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उपचारमा संलग्न चिकित्सक माथि हातपात भएको थियो। त्यसको भोलिबाट उनीहरुले अस्पतालको ओडिडी सेवा बन्द गराएका थिए।
११ बजेसम्म खुल्ला रहने ओडिडी हाल भने १० बजेसम्म सञ्चालन गरिने नेपाल मेडिकल कलेज संघर्ष समितिका संयोजक डा. गुञ्जन खड्काले बताए।
‘दोषिलाई कारबाहीका लागि कानूनी प्रक्रिया सुरु भएको छ। त्यसैले हामीले केही सहजीकरण गरेका हौं। तर अस्पतालले सुरक्षाको व्यवस्था नगरेसम्म र अन्य माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ।’ उनले भने।
अस्पतालमा लगाइएको ताला पनि बिहिबार नै खोलिएको छ। यद्यपि अस्पतालले सुरक्षाको व्यवस्था र ग्यारेन्टी नगरेसम्म आन्दोलन भने नरोकिने उनले बताए। जेल विथ आउट बेल, तलब र सुरक्षाको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने संघष समितिले जनाएको छ।
अस्पताल प्रशासनसँग उनीहरुको शुक्रबार पुनः छलफल हुँदैछ। उक्त छलफलमा सहमति भए आन्दोलनका कार्यक्रम फिर्ता लिने संयोजक डा. खड्काले बताए।
उनले भने, ‘हामी हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छौं। शुक्रबार अस्पताल प्रशासनसँग छलफल हुन्छ। त्यसमा सहमति भए हामी आन्दोलनका कार्यक्रम फिर्ता लिन्छौं।’