काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा उपचारका लागि धरानका नौ जना चिकित्सकलाई प्रदेश २ मा खटाएका छन्।
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नौ जना चिकित्सकलाई मन्त्रालयले प्रदेश २ को तीन जिल्लामा खटाएका हुन्। उनीहरुलाई एक महिनाको लागि त्यहाँ खटाइने प्रदेश २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नाक, कान, घाँटी रोग विशेषज्ञ डा. राजन गोविन्द मुल्मी, शल्य चिकित्सक डा. सुनिल जैसवाल र डर्माटोलीजिस्ट डा. कमल आचार्यलाई कलैया अस्पताल बारामा खटाइएको छ। गौर अस्पताल रौहटमा खटिने चिकित्सकको सूचीमा गाइनोकोलोजिष्ट डा. मुकेश झा, हाडजोर्नी विशेषज्ञ डा. रमेश, र रेडियोलोजिष्ट डा. अशोक चापागाई छन्। मलङ्गवा अस्पताल सर्लाहीमा बालरोग विशेषज्ञ डा. मनिश चौधरी, मेडिसिन डा. सरोज घिमिरे र एनेस्थेसियोलोजी डा. विशाल कुमार देवलाई खटाइएको मन्त्रालयले जनाएको छ।
खटाइएका ती चिकित्सकहरु बिहिबार नै कार्यस्थलमा पुग्ने मन्त्रालयले जनाएको छ।