काठमाडौं- काठमाडौं मेडिकल कलेज (केएमसी)का २ जना डाक्टर र एक नर्स कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त भएपछि उनीहरु डिस्चार्ज भएर घर गएको केएमसीकी प्रिन्सिपल डा चन्दा कार्कीले जानकारी दिइन्।
उनका अनुसार कोरोना संक्रमण देखिएका उनीहरु केएमसीको दुवाकोट स्थित कोभिड आइसोलेसनमा उपचाररत थिए। पछिल्लो प्रयोगशाला परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।
अस्पतालमा उपचाररत बिरामी, डाक्टर र नर्समा कोरोना संक्रमण देखिएपछि अस्पतालको सेवा २ दिन रोकिन पुगेको थियो। तर डिसइन्फेक्टको काम सिकएलगत्तै अस्पतालमा पुन सेवा सुरु भइसकेको डा कार्कीले जानकारी दिइन्।
उनले अस्पतालमा कार्यरत ३५० भन्दा बढीको पिसिआर परीक्षण गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिइन्।
शुक्रबार केएमसीका २ डाक्टर र नर्ससहित देशका विभिन्न अस्पतालमा उपचाररत १६ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म ८७७ जना उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।