प्रतिकात्मक तस्बिर
दीपा पौडेल
प्युठान- कोरोना भाइरसको उच्च जोखिममा स्वास्थ्यकर्मीहरु परिरहेको समयमा प्युठानका स्वास्थ्यकर्मीहरुले जोखिम मोलेरै प्रसूति सेवा दिइरहेका छन्।
भारतबाट जिल्लामा भित्रिएका मानिसहरु अहिले क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइन मै बसेका बेला नौबहिनी गाउँपालिका वडा नं.७ मा एक किशोरीले बच्चा जन्माएकी छिन। उनले गएराती छोरालाई जन्म दिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र फोप्लीका प्रमुख कशवपुनले जानकारी दिए।
जेठ १७ गते श्रीमानसंगै भारतबाट आएपछि नेरा आधारभुत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी १८ बर्षीया सरस्वती पुनले स्वास्थ्यकर्मीको निगरानीमा बच्चा जन्माएकी हुन्।
भारतबाट आई स्थानीय क्वारेन्टाइनहरुमा बसेकामा कोरोना संक्रमण देखिइरहेका बेला सुत्केरी सरस्वतीको पनि कोरोना सम्बन्धि कुनै परिक्षण नगरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले बताए।
'कोरोना परिक्षण नगरिएको अवस्थामा पनि स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर आफ्नो कर्तव्य निभाइरहनु भएको छ,' सुवेदीले भने।
प्रसूति बेथाले च्यापेपछि उनलाई आधारभुत स्वास्थ्य सेवा केन्द्र फोप्लीमा कार्यरत अनमी कृष्णा बुढाले क्वारेन्टाइनमा नै सुत्केरी गराएकी हुन्।
उनले भनिन्–“म कार्यालय मै अर्को एक जनाको डेलिभरी गराउँदै थिए, रातीको ११ः४५ बजेतिर क्वारेन्टाईनबाट फोन आयो अनि यताको सुत्केरी सकाएर उता गएँ।”
'सुत्केरी आमा र बच्चा दुवैको अवस्था सामान्य छ,' उनले थपिन। कोरोनाको जोखिम भए पनि स्वास्थ्यकर्मीको नाताले आफ्नो कर्तव्य सम्झेर जोखिम मोलेरै भए पनि पिपिई लगाएर सुरक्षित महसुुस गरि सुत्केरी गराएको उनले बताईन्।
उनको आज पिसिआर जाँच गरि प्रसुति स्याहारका लागि उचित परामर्श पश्चात घर पठाइने बताइएको छ।
कृष्णा बुढाले जस्तै अन्य स्वास्थ्यकर्मीहरुले पनि गर्भवती महिला, नवजात शिशुहरुलाई दिइने सेवाहरु प्रभावित नहोस् भनेर निरन्तर रुपमा सेवा दिइरहेको सुवेदीको भनाई छ। अहिलेको यो जटिल अवस्थामा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल उच्च राखी सेवा प्रवाहमा सहयोग गर्न सुवेदीले सबैलाई आग्रह समेत गरे।