विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी सङ्क्रमित भएको शनिबार उनले बताएका छन्।
क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५ वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी गराएका हुन्।
उनले भने, ‘म गत बिहीबारदेखि अस्वस्थ बनेको छु। मेरो शरीरमा असह्य पीडा भएपछि स्वास्थ्य परीक्षण भएको छ। दुःखको कुरा मलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।’
सन् १९९६ देखि २०१८ सम्म राम्रो लय प्रदर्शन गर्दै पाकिस्तानका लागि विभिन्न खेलमा इतिहास रच्च सफल उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू अझै पनि कायम रहेका छन्।
अफ्रिदीले कोरोना भाइरसबाट प्रभावित पाकिस्तानी नागरिकका लागि बस्तीबस्तीमा पुगी सहयोग गर्दै आएका थिए।
गतहप्ता उनले एएफपीसँग कुरा गर्दै भनेका थिए, ‘म पाकिस्तानी जनतालाई सहयोग गर्न पाउँदा खुशी छु। मैले सहयोगका लागि समुदायमा जाँदा मास्क लगाउने र निसङ्क्रमित हुने आवश्यक सबै सावधानी अपनाउने गरेको छु।’
अफ्रिदीको स्वास्थ्य सुधारको कामना गर्दै प्रार्थनासहितका शुभकामना सामाजिक सञ्जालमा उच्च महत्वका साथ सम्प्रेषण भएका छन्। रासस