डा मीरा आचार्य
जसरी एउटा गाडी राम्ररी कुद्न त्यसका सबै पार्टपुर्जा दुरुस्त हुनुपर्छ, त्यसरी नै मानव शरीरले सही ढंगले कार्य गर्न सबै अंग स्वस्थ हुनुपर्छ।
हाड र मासुले बनेको मानव शरीरमा रोग लाग्नु सामान्य हो तर त्यस रोगको सही समयमा सही उपचार हुन नसकेमा जटिल परिस्थिति सिर्जना हुनसक्छ।
भनिन्छ, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो र यो धनको रक्षा गर्न हामी सदैव तत्पर रहन्छौं।
शरीरका विभिन्न अंगमध्ये एक महत्वपूर्ण अंग हो दाँत। दाँतको सुरक्षा र हेरचाह गर्नु त्यत्तिकै आवश्यक छ, जति मुटु, मिर्गौला र फोक्सोको हेरचाहमा छ। वास्तवमा दाँतले कहिलेकाहीँ यी नदेखिने भित्री अंगभन्दा पनि महत्वपूर्ण भूमिका निभाउने गर्छ। मान्छेको पहिलो आकर्षण मुस्कान र त्यो मुस्कानको प्राण भनेकै दाँत हो। एक सुन्दर र यादगार मुस्कानले संसारलाई नै आफ्नो वसमा पार्न सक्ने कुरासँग त हामी अवगत नै छौं।
हामी शरीरका अनेक अंगको स्वास्थ्यको लागि विशेषज्ञ खोज्दै धेरै ठाउँमा धाउँछौं तर दाँतको लागि भने प्राय: कामचलाउ उपायहरु मात्र अपनाउने गर्छौं। चिकित्सकको पेसा एक पेसा मात्र नभएर धर्म पनि हो। त्यसैले हरेक चिकित्सकले दाँतको उपचारको लागि दन्त चिकित्सककहाँ जाने सल्लाह दिनु एकदमै स्वभाविक हो।
समय र प्रविधिसँगै दन्त क्षेत्रले पनि विकासको काँचुली फेर्दै आएको छ। नेपालमा पहिले यो सुविधाको कमी थियो। यातायात, शिक्षा, आम्दानी, चेतना र सामाजिक तथा अन्य पारिवारिक कारणले दाँतको उचित उपचार पाउन त्यति सरल थिएन। अन्धविश्वासको पट्टी लगाएर भनौँ या मनको शान्तिको लागि धामीझाँक्रीकोमा गइन्थ्यो वा घरेलु उपचार पद्धतिको प्रयोग हुन्थ्यो। सनेसोले च्यापेर अथवा आलु पोल्न प्रयोग हुने चिम्टा तताएर पनि हल्लिएको दाँत फुकालिन्थ्यो भन्ने कुरा बुढापाकाबाट सुन्दै आएको हो।
त्यो बेलाका वरिष्ठ दन्तरोग विशेषज्ञहरु अहिले त्यो समय सम्झँदा अचम्म लाग्ने बताउनुहुन्छ। बिरामीको लाम यति ठूलो हुन्थ्यो रे कि सिआरटी (दाँतको जरासम्मको उपचार) गर्न समय नै हुन्थेन रे। दिनमा २००-३०० वटा दाँत खोलिन्थ्यो अनि दाँत सफा गर्ने आधुनिक उपकरण नहुनुको बिडम्वनाले धेरै समय र मिहिनेत लाग्ने कुरा त छँदै छ।
अहिले समय फरक छ। प्रविधिको विकाससँगै दन्त चिकित्सा क्षेत्र फराकिलो भएको छ। दाँत सफा गर्ने उपकरण मात्र होइन, अहिले दाँत सफा गर्ने विशेष पढाइ नै हुन्छ। तर दु:खको कुरा के भने दाँत सफा गर्ने व्यक्तिलाई हामी दन्त चिकित्सक ठानेर सुविधा लिइरहेका हुन्छौं।
अदक्ष दन्त चिकित्सक वा प्राविधिकबाट उपचार गराउँदा ज्यान नै जोखिममा परिरहेको छ। देशमा शिक्षा, चेतना तथा कडा कानुनको अभावले नै होला डेन्टल हाइजिनिस्टले डाक्टर सो सरह नै काम गर्ने चलन मौलाउँदै गएको छ। अपूर्ण ज्ञानले गर्दा त्यस्ता अदक्ष चिकित्सक वा प्राविधिकले कतिपय अवस्थामा रोग अझ जटिल पार्ने र बिरामीको ज्यान नै लिन सक्ने हुन्छ। चिकित्सक वा प्राविधिकको सानो लापरबाहीले मान्छेको ज्यान नै जोखिममा पार्नु भनेको कतिसम्मको अमानवीय कुरा हो, त्यो हामी आफैं सोच्न सक्छौं।
दन्त चिकित्सा क्षेत्र खस्किनुमा जनतामा चेतनाको कमीले गर्दा हो। कलेजहरुमा कोटाको कमी, विकट क्षेत्रमा उपकरण र विशेषज्ञको कमी, आम जनतामा चेतनाको कमी जस्ता कुराहरुलाई सम्बन्धित निकायले ध्यान दिनु अत्यन्तै आवश्यक छ। अपूर्ण ज्ञानले गर्दा अनि स्वास्थ्य जस्तो संवेदनशील विषयमा सस्तोको पछाडि दौडिने, भरपर्दो सेवाको उचित पारिश्रमिक दिन कन्जुस्याईं गर्ने, अनि दन्त प्राविधिकबाट समस्या भए पछाडि मात्र दन्त चिकित्सककोमा जाने मानसिकता बदल्नु जरुरी छ।
दाँतको सही उपचार नपाएर धेरै जटिल परिस्थिति सिर्जना भएको कुरा हामीमाझ दिनहुँ आइरहन्छन्। गत २०७६ चैत महिनामा बर्दिबासस्थित एक डेन्टल क्लिनिकको लापरबाहीले एक किशोरीको ज्यान गएको कुरा त हामीलाई थाहा नै छ। यस्ता समाचारमा नआएका घटनाहरु धेरै छन्, जुन ओझेलमा परिरहेका हुन्छन्।
अहिलेको कोरोना माहामारीमा खतरा अझ बढेको छ। अब त आफ्नो कार्यक्षेत्रभन्दा बढी काम गर्ने व्यक्तिहरुकोमा जान समेत खतरा बनेको छ।
श्वासप्रश्वासबाटै सर्ने कोरोना भाइरसबाट बच्न दाँतको उपचार गर्ने र गराउने दुवैको लागि एउटा ठूलो चुनौती हो। सामाजिक दूरी कायम गर्नुपर्ने अवस्थामा उचित उपाय र प्रविधिको प्रयोग गर्ने ज्ञान र क्षमता केवल एउटा दक्ष दन्त चिकित्सकसँग हुन्छ। यो भयानक माहामारीमा स्तरीय दन्त सुविधा नपाएमा कोरोनाले ज्यान जाने खतरा अझ बढ्न जान्छ। अपरिपक्क दन्त चिकित्सकबाट उपचार गराउँदा यो जोखिम झन् उच्च हुन्छ।
नमरी स्वर्ग पुगिँदैन भनेझैं दाँत दुख्नुको पीडा कस्तो हुन्छ, त्यो दाँत दुखेको व्यक्तिलाई मात्र थाहा हुन्छ ।
(डा आचार्य दन्तरोग विशेषज्ञ हुन्)