गुल्मी- गुल्मीमा कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको तम्घास अस्पतालका डा कविराज भुसालले जानकारी दिए।
उनी यही जेठ २ गते भारतबाट गुल्मीस्थित गाउँमा आएका थिए। जैसीथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो । त्यसलगत्तै थप उपचारका लागि जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेशनमा राखिएको थियो।
उनी दुई वर्षदेखि अर्बुद र पायल्सको रोगीसमेत थिए। उनलाई थप उपचारका लागि बुटबल लैजानुपर्ने भए पनि अस्वीकार गरेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए।
सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा शव व्यवस्थापन गरेको छ। यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन्। यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा निधन भएको थियो।
जिल्लामा कुल कोरोना सङ्क्रमित ११ जना छन्। दुई जना कोरोना जितेर घर फर्केका छन्। अझै विभिन्न क्वारेन्टिनमध्ये रेसुङ्गा नगरपालिकामा तीन, रुरु गाउँपालिकामा दुई तथा धुर्कोट र छत्रकोट गाउँपालिकामा एकएक सङ्क्रमित छन्।उनीहरुको सामान्यावस्था रहेको जनाइएको छ। रासस