काठमाडौं - अमेरिका नेपाल मेडिकल फाउण्डेशनले भर्चुअल वार्षिक सम्मेलन गर्ने भएको छ। फाउण्डेशनले असार २७ गते जुम र फेसबुक मार्फत वार्षिक सम्मेलन गर्ने भएको हो।
कोभिड १९ को महामारीको कारण फाउण्डेशनले नियमित वार्षिक सम्मेलन स्थगित गरेको थियो। सम्मेलनका लागि फाउण्डेसनले बिहान ८ देखि राति साढे १० बजेसम्मको समय निर्धारण गरेको छ।
फाउण्डेशनले भर्चुअल सम्मेलनका लागि आफ्नो सदस्यबीच छलफल गरेको थियो। जसमा अधिकांशले भर्चुअल सम्मेलनका लागि सहमति जनाएका थिए। सम्मेलन सम्बन्धी जानकारी र विशिष्ट एजेण्डा बारे सबै सदस्यलाई इमेल गरिने फाउण्डेशनले जनाएको छ।
सम्मेलनको पहिलो सत्रमा अप्रिल १७ मा बोर्ड बैठकले गरेको निर्णय अनुमोदन गरी नयाँ बोर्ड र कार्यकारी टोली गठनको सम्बन्धमा छलफल हुनेछ। वार्षिक वित्तीय रिपोर्ट पनि समावेश हुनेछ।
दोस्रो सत्रको छलफलको हिस्सा फेसबुकमा लाइभ गरिने फाउण्डेसनले जनाएको छ। जसमा नेपालमा एएनएमएफको वर्तमान र भविष्य परियोजनामा केन्द्रित हुनेछ। सम्मेलनमा डा भगवान कोइराला पनि सहभागी हुनेछन्। सम्मेलनमा गायक राजु लामा, आनी छोयङ सहित कलाकारको प्रदर्शन पनि हुने फाउण्डेशनले जनाएको छ।
उक्त बैठकमा नयाँ आजीवन सदस्यलाई मान्यता पनि दिइनेछ। फाउण्डेसनले सम्मेलनमा भाग लिन सबै सदस्यहरुलाई आमन्त्रित गरेको छ।
फाउन्डेसनले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिन थालेलगत्तै फाउन्डेसनले नेपालमा मेडिकल सामग्री लगायतका सहयोग गर्दै आइरहेको छ।