काठमाडौं- स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले कोरोना उपचारमा अग्रपंक्ति खटिएका नर्सिङ जनशक्तिलाइ कोभिड संक्रमण रोकथाम र क्रिटिकल केयरका विषयमा तालिम सञ्चालन गरेको छ।
महाशाखाले कोरोनाको अग्रपंक्तिमा खटिएका नर्सिङ जनशक्तिलाई कोभिड व्यवस्थापनमा आवश्यक संक्रमण रोकथाम र क्रिटिकल केयर बारे सैद्धान्तिक ज्ञान र सिप विकास गर्न तालिम सञ्चालन गरेको हो।
कोभिड १९ को महामारी भएकाले उक्त तालिम भर्चुअल माध्यमबाट सञ्चालन गरिएको महाशाखाले जनाएको छ। उक्त तालिम दुई हप्तासम्म सञ्चालन हुनेछ। । हाल दोस्रो चरणको तालिम जेठ २५ बाट सञ्चालन भइरहेको महाशाखाले जनाएको छ ।
पहिलो चरणको तालिम जेठ ७ देखि २१ गतेसम्म सञ्चालन भइसकेको छ। सात प्रदेशका अस्पतालबाट छनोट भएका ५० जना नर्सहरु तालिमको पहिलो समूहमा सहभागी भएका थिए। दोस्रो समूहमा सहभागी हुने ५५ जना नर्सहरु काठमाडौं उपत्यका बाहिर र भित्रका सरकारी तथा गैरसरकारी अस्पतालबाट छनोट भएकाहरु हुन्।
मेची अस्पताल, कोशि अस्पताल, नारायणी अस्पताल, गेजेन्द्र नारायण अस्पताल, भरतपुर अस्पताल, पोखरा एकादमी अफ हेल्थ साइन्स, लुम्बिनी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, भेरि अस्पताल, नेपालगन्ज मेडिकल कलेज र सेती अस्पतालका नर्सहरु पहिलो चरणको तालिममा सहभागी थिए।
वीर अस्पताल, कान्ति बाल अस्पताल, नेपाल प्रहरी अस्पताल, आयुर्वेदिक अस्पताल, भक्तपुर अस्पताल, राप्ती प्रादेशिक अस्पताल, मानवअंग प्रत्यारोपण केन्द्र, डडेलधुरा अस्पताल, भीम अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, विपि कोईराला अस्पताल, जलेश्वर अस्पताल, जनकपुर अस्पतालका नर्सिङ स्टाफ दोस्रो चरणमा सहभागी छन्।
कोभिड १९ को संक्रमण र वर्तमान स्थिति, सही तरिकाले पिपिई लगाउने र फुकाल्ने, कोभिड संक्रमितलाई प्रयोग भएका सामग्री र उपकरणको निर्मलीकरण विधि र भण्डारण लगायत विषयमा तालिम केन्द्रित रहेको महाशाखाले जनाएको छ।
तालिम फेसबुक पेजबाट लाईभ समेत भइरहेकोले अन्य ईच्छुक सहभागीहरुले नर्सिङ तथा सामाजिक सुरक्षा माहाशाखाको फेसबुक पेजबाट तालिम लाईभ हेर्न सकिने नर्सिङ महाशाखाले जनाएकोछ ।