काठमाडौं - भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालले आफ्ना सबै सेवा सञ्चालन रहेको जनाएको छ । कोरोना महामारीको अवस्थामा उपचार प्रोटोकल अनुसार नै विशेष सावधानी अपनाउँदै अस्पतालले सबै सेवा सुचारु राखेको हो।
क्यान्सर र कोरोना दुबै डरलाग्दा रोग भएकाले कुनै पनि बिरामी उपचारबाट बञ्चित नहोस् भन्दै नियमित सबै सेवा सञ्चालन गरिरहेको अस्पतालका रेडियसन अंकोलोजिष्ट डा अञ्जनीकुमार झाले बताए।
उनले भने, ‘सुरुको दिनमा सेवा दिन केही समस्या भएको थियो। तर कोरोनाका कारण क्यान्सरका बिरामीले सेवाबाट बञ्चित हुन नपरोस् भनेर हामीले उपचार प्रोटोकल अनुसार अहिले निरन्तर रुपमा क्यान्सरका बिरामीलाई उपचार दिइरहेका छौं।’
अस्पताल आउने कुनै पनि बिरामी बिना उपचार नफर्किएको उनले बताए। अस्पतालले काठमाडौं बाहिरबाट आउने बिरामीलाई अनिवार्य रुपमा पिसिआर परीक्षण गराउन भनेको छ। हालसम्म कोरोनाका कुनै पनि बिरामी अस्पतालनमा उपचारका लागि नआएको उनले जानकारी दिए।
हाल दैनिक ३५ देखि ४० जना रेडियोथेरापी र किमोथेरापीका लागि आउने गरेको अस्पतालले जनाएको छ। हाल अस्पतालमा ओपिडी सेवा, रेडियोथेरापी, किमोथेरापी र ब्रेकिथेरापी सेवा उपलब्ध छन्।
ब्रेकिथेरापी उपचार विधि यस अस्पतालको विशेष सेवा मध्यको एक हो। यो उपचार विधि विशेषगरी पाठेघरको मुखको क्यान्सरका बिरामीका लागि प्रयोग गरिने अस्पतालका रेडियशन अंकोलोजिष्ट डा आविष अधिकारीले बताए। यद्यपि यो विधि घाँटी, स्तन, छाला तथा म्युकोसलका क्यान्सरका बिरामीका लागि प्रयोग गर्न सकिने उनले बताए।
काठमाडौं क्यान्सर सेन्टरले ब्रेकिथेरापी सेवा सुरु गरेको करीब एक वर्ष भएको छ। उक्त अवधिमा २ सय जनाले यो उपचार विधिबाट सेवा लिएको डा अधिकारीले जानकारी दिए।
यस उपचार विधिबाट शरीरको जुन भागमा क्यान्सर छ, त्यही ट्युब मार्फत उपचार गर्न सकिने उनले बताए।
कोरोना महामारीको समयमा बिरामीलाई सेवा दिन चुनौतीपूर्ण रहेको उनको भनाई छ। काठमाडौं बाहिरका बिरामीलाई फोन मार्फत परामर्श गरिरहेको अस्पतालले जनाएको छ। बिरामीको सहजताका लागि अस्तालले निशुल्क बस सेवा समेत सञ्चालन गरेको छ।