काठमाडौं- कोरोना भाइरसको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काभ्रे जिल्लाका सम्पूर्ण एम्बुलेन्स चालकलाई पिपिई लगायत सुरक्षा सामग्री वितरण गरिएको छ। बनेपामा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाईले एम्बुलेन्स चालकलाई सुरक्षा सामग्री प्रदान गरेका हुन्।
पिपिई वितरण गर्दै हुमागाईंले महामारीका बेला पनि निरन्तर सेवामा खटिने एम्बुलेन्स चालकको आत्मबल बढाउन र भाइरस संक्रमणबाट सुरक्षित राख्न सुरक्षा सामग्री वितरण गरिएको बताए।
बिरामीके उद्धारमा जोखिम मोलेर प्रत्यक्ष रुपमा खटिएका जिल्लामा सञ्चालित ३५ वटा एम्बुलेन्सका चालकलाई पिपिई लगायत स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव दिनेश लामा, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति तीर्थ लामा, क्षेत्रीय सभापति रमेश हुमागाईं, बनेपा नगर सभापति राम जोशी लगायतको उपस्थित थियो।
नेता हुमागाईंले यसअघि पनि काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय तहका प्रत्येक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई पिपिई सेट, स्वास्थ्य सामग्रीका साथै मास्क, सेनिटाइजर र जिल्लामा क्रियाशील पत्रकारलाई प्रेस ज्याकेट र एन ९५ मास्क वितरण गरेका थिए।