काठमाडौं- भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल मंगलबारदेखि बन्द गरिएको छ। अस्पतालले विज्ञप्ति जारी गर्दै मंगलबारदेखि अस्पताल बन्द गरिएको जनाएको छ।
अस्पताल बन्द गरिएपछि पूर्ण रुपमा निर्मलीकरण गरिने विज्ञप्ति उल्लेख गरिएको छ। अस्पताल बन्द गरिनुको विशेष कारण विज्ञप्तिमा उल्लेख गरिएको छैन।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि माघ १७ गते डा प्रमोद पौडेलको संयोजकत्वमा कोभिड१९ व्यवस्थापन समिति गठन गरी अस्पतालमा सेवा सुरु गरिएको थियो।
यस अस्पतालले हालसम्म ३६ जना बिरामीहरु व्यवस्थापन गरिसकेको छ। हाल अस्पतालमा १० शय्याको कोभिड आईसीयु सहित ७५ शय्याको आइसोलेसन छ। यस अस्पतालबाट हालसम्म ९ सय ५३ जना शंकास्पद बिरामीको नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको थियो। जसमध्ये २८ जनामा संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।
हालसम्म आठ जना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ। अस्पताल बन्द भएपछि शनिबार र आइतबार गरी भर्ना भएका १८ जना संक्रमितहरु भरतपुर अस्पतालमा रिफर गरिएको छ।
भरतपुर अस्पतालको व्यवस्थापनमा रहेको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाबाट दैनिक ३ सय बढी नमूना परीक्षण भइरहेका छन्। हालसम्म यस प्रयोगशालाबाट ४ हजार ७ सय ३३ नमुना परीक्षण भइसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
