दीपा पौडेल
प्युठान - वर्षात र गर्मी मौसम बढेसंगै प्युठानमा डेंगुको संक्रमण देखिएको छ। प्युठान नगरपालिका–.६ की एक ६ वर्षीया बालिकामा डेंगु संक्रमण देखिएको हो।
बिरामी भएर अस्पताल आएकी उनलाई डेंगुको संक्रमण भएको पुष्टि भएको हो। उनको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेकोमा स्वास्थ्यमा खासै सुधार नआएकाले जिल्ला बाहिर रेफर गरिएको अस्पतालले जनाएको छ। एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने जिल्ला अस्पताल विजुवारमा कार्यरत डा क्षितिज नेपालीले जानकारी दिए।
कोरोना भाइरस फैलिरहेको अवस्थामा अन्य रोगहरुलाई बेवास्ता गर्दा झन् जोखिम बढ्न सक्ने भएकाले सचेत रहनु पर्ने उनको भनाइ छ।
मौसम परिर्वनसंगै पहाडी जिल्लाहरुमा पनि यो रोग देखिन थालेको भन्दै डेंगुको संक्रमणबाट बच्नको लागि वातावरणीय सरसफाईमा विषेश ध्यान दिन जिल्ला अस्पताल प्युठानका प्रमुख डा अमृत पन्थीले आग्रह गरे। उनले लामखुट्टेको टोकाइबाट बच्न सुझाब दिए।