प्रतिकात्मक तस्बिर
काठमाडौं- ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजको क्वारेन्टाइनमा बस्ने महिलालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले योगाभ्याससँग परामर्श दिन थालेको छ। केन्द्रले योगाभ्याससँगै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न जडिबुटीसहित आयुर्वेद औषधि पनि वितरणसहित परामर्श दिन थालेको हो।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बढेसँगै पछिल्लो समय नेपालका विभिन्न स्थानमा सरकारले क्वारेन्टाइन स्थापना गरी शंकास्पद मानिसलाई राख्दै आएको छ। जावलाखेलको क्वारेन्टाइनमा वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई राखिएको हो।
केन्द्रका प्रशासन प्रमुख वरिष्ठ कविराज ईश्वरी ढकालले कोभिड–१९ का बारेमा कसरी सावधानी अपनाउने भन्ने बारेमा आवश्यक परामर्श दिने, आयुर्वेदजन्य औषधि तथा जडीबुटीको महत्व दर्शाउने र आत्मबल बढाउनका लागि आवश्यक उपायहरु जानकारी गराइएको बताइन्।
आयुर्वेदले रोग लाग्न नदिनाका साथै दीर्घायु, सुखानुभूति एवं शरीरलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुर्याउँछ। त्यसैले सरकारले पनि जडिबुटीजन्य वस्तुमा जोड दिन आम सर्वसाधारणलाई आग्रह गर्दै आएको छ। आयुर्वेद औषधिसहित जडिबुटी तथा भिटामिनजन्य पौष्टिक तत्वको सेवनले स्वास्थ्यमा फाइदा पुग्ने चिकित्सकले बताएका छन्।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले क्वारेन्टाइन एउटा परीक्षणको सामान्य घडी रहेकाले क्वारेन्टाइन भन्ने बित्तिकै आत्तिनुपर्ने अवस्था नरहेको भन्दै आत्मबल दह्रो बनाउनुपर्ने सुझाव दिए।
केन्द्रका आयुर्वेद चिकित्सक तथा कविराजहरूले क्वारेन्टाइनमा बस्दा आफन्त, नातागोता, इष्टमित्र एवं आफ्ना साथीहरू खुलेर मोबाइलमा गफ गर्ने, नेटमा आफ्ना कुराहरु सेयर गरेर आनन्द लिने, रमाउने, खेल खेलेर समय कटाउँदै मनोबल बलियो बनाउनुपर्ने सुझाव दिएका छन्।
कोरोनाको सङ्क्रमणबाट बच्न मुख्यतः भौतिक दूरी कायम गर्ने, धेरै भीडभाडमा नजाने, नियमित मास्क लगाउने र सरसफाइमा विशेष ध्यान दिनुपर्छ। योगाभ्यासका क्रममा ललितपुर महानगरपालिका–५ का वडाध्यक्ष विकासमान श्रेष्ठले कोरोना कहरले आम नेपालीलाई एकै ठाउँमा ल्याएर परिचित गराइदिएको भन्दै विषम परिस्थितिमा नआत्तिन र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आवश्यक उपायहरु अवलम्बन गर्न आग्रह गरेका छन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा अनु शाक्यले रोग प्रतिराधात्मक क्षमता वृद्धि गर्न केन्द्रले क्वारेन्टाइनमा बसेकालाई अश्वगन्धा चूर्ण, सेतोपलादी चूर्णसहित भिटामिन तथा अन्य पौष्टिक तत्वहरु वितरण गर्ने गरेको जानकारी दिए।
उनले आवश्यकताअनुसार योगाभ्यास तथा आत्मबल बढाउनका लागि आवश्यक परामर्श कक्षा दिनसमेत केन्द्र तयार रहेको बताए।