काठमाडौं- कोरोना भाइरसको सङ्क्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ। योसँगै गत नौ सातामा कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १३० जना पुगेको छ। यो साता मृत्यु भएका तीनै जना कतारका भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ।
यसैगरी एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता विभिन्न देशमा १० हजारभन्दा बढी नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यान्मा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरियालगायतका १८ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएका हुन्।
समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७९२ जना नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। संयोजक डा सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चार जना नेपालीमा समेत कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
नेपालका आठ हजार ६०५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४०२ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए। रासस