काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर सुर्खेत जिल्लाको आइसोलेसन केन्द्रमा कोभिड-१९ संक्रमितहरुको लागि जीवनशैली तथा तनाव व्यवस्थापन सम्बन्धी साताव्यापी कार्यक्रम सुरु भएको छ ।
जिल्लाको पञ्चपुरी नगरपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र, साल्कोटले सूर्यप्रकाश माध्यमिक विद्यालयमा बनाइएको आइसोलेसनमा रहेका कोभिड-१९ संक्रमितहरुलाई महामारीको समयमा पालना गर्नुपर्ने सतर्कताहरु, निको भई पुन: घर फर्किसकेपछि पालना गर्न सकिने आहार-विहार लगायत जीवनशैली परिवर्तनका विषय एवं मानसिक तनावको व्यवस्थापन गर्ने उपायहरुको बारेमा जानकरीमूलक कार्यक्रमको सुरुवात गरिएको छ।
'तनाव र डिप्रेसनलगायत कमजोर मानसिक स्वास्थ्यले श्वासप्रश्वासको समस्याको जोखिम झन् बढाउने पनि बुझिएको छ,' स्वास्थ्य केन्द्रका आयुर्वेद तथा वैकल्पिक शाखाका प्रमुख डा हेमन्त शाहीले भने, 'योग तथा प्राणायामले मानसिक स्वास्थ्यको सुधारसँगसँगै फोक्सोको कार्य सुधार्न परिचित भएकाले कोभिड-१९ संक्रमितहरुलाई पनि हामीले योग र प्राणायाम गराउन थालेका छौँ।'
हाल सो आइसोलेसन केन्द्रमा २७ जना पिसिआर पोजेटिव कोरोना संक्रमितहरुलाई राखिएको छ।