काठमाडौं- तीनकुनेस्थित कान्तिपुर अस्पतालका कर्मचारीहरु आन्दोलित बनेका छन्। तीन महिनादेखि तलब नपाएको, लकडाउनको समयमा अस्पतालले यातायातको सुविधा उपलब्ध नगराएको भन्दै कर्मचारीहरु आन्दोलितमा उत्रिएका हुन्।
यातायातको सुविधा नहुँदा अस्पताल आउन जान समस्या भएको त्यहाँ कार्यरत स्टाफ नर्स पवित्रा पराजुलीले बताइन्। उनी सहित अस्पतालमा अहिले करीब २५ जना कर्मचारी आन्दोलित बनेका छन्।
उनले भनिन्, ‘हामीले तीन महिनादेखि तलब पनि पाएका छैनौं। त्यसमाथि लकडाउनको समयमा अस्पताल जान पनि समस्या हुन्छ। अस्पतालले यातायातको सुविधा समेत उपलब्ध गराएको छैन।’
कान्तिपुर अस्पतालमा कार्यरत कर्मचारीले तीन महिनादेखि तलब समेत नपाएको अखिल नेपाल स्वास्थ्य श्रमिक संघ कान्तिपुर अस्पतालका अध्यक्ष प्रेम कृष्ण बोयजुले बताए।
संघले विरोध स्वरुप सोमबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनको समयमा यातायातको सुविधा उपलब्ध नगराएको, ग्रेड रोक्का गरिएको, कम तलबमा काम गर्नु परेको अध्यक्ष बोयजुले बताए।
तीन महिनाको तलब एकमुष्ठ रुपमा पाउनुपर्ने माग सहित उनीहरुले अस्पताललाई जेठ ३० गते सात दिनको अल्टिमेटम दिएको थियो। उक्त अवधिमा समेत अस्पतालले कुनै वास्ता नगरेको उनले बताए।
‘हामीले तीन महिनादेखि तलब पाएका छैनौं। अस्पतालले यो लकडाउनको समयमा पनि यातायातको सुविधा समेत दिएको छैन। हामी छलफल गर्न खोज्दैछौं। पटक–पटक सम्पर्क गर्न खोजेपनि अस्पताल प्रशासनले बेवास्ता गरिरहेको छ।’ उनले भने।
स्वास्थ्य खबरले राखेको जिज्ञासामा अस्पतालका मेडिकल डाइरेक्टर डा प्रभाकर शाहले यो विषय आफ्नो कार्यक्षेत्र भित्र नपर्ने बताए।
उनले भने, म केही दिनदेखि अस्पताल गएको छैन। यो सब विषय मेरो कार्यक्षेत्रभित्र पर्ने पनि होइन, अस्पतालको कार्यकारी निर्देशकले हेर्ने हो।
अस्पतालका कार्यकारी निर्देशक केपी सिंह भने लकडाउनको समयदेखि नै सम्पर्क विहीन भएको त्यहाँका कर्मचारीहरुले बताएका छन्। अस्पतालका कार्यकारी निर्देशक सम्पर्क विहीन भएको र मेडिकल डाइरेक्टर पन्छिन खोजेको उनीहरुको गुनासो छ।
