काठमाडौं- नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले कोरोना संक्रमितहरुले होम क्वारेन्टिनमा बस्दा अपनाउनुपर्ने सावधानीका विषयमा अन्तक्रिया कार्यक्रम सञ्चालन भएको छ।
हस्पिटलमा काम गर्ने कर्मचारी एवं स्वास्थ्यकर्मीमा संक्रमण देखिइहालेमा र तुरुन्त अस्पतालमा भर्ना गर्न नपर्ने स्थिति देखापरेमा घरैमा बसी सुरक्षित रुपमा कसरी कोभिड-१९ सँग लड्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। कार्यक्रममा अस्पिटलका सर्जिकल नर्सिङ्ग विभागका सुपरभाइजर सविता पौडेल तथा सर्जिकल रजिस्ट्रार डा आतिश दर्शन बज्राचार्यले आफ्नो मन्तव्य राखेका थिए।
कोभिड-1९ महामारीले विश्वव्यापी रूप लिइसकेको र यसको विरुद्धमा भ्याक्सिन पनि छिट्टै विकसित हुने कुनै संकेत नदेखिएकाले अबको कदम सकेसम्म विस्तारित रुपमा संक्रमणले हाम्रो स्वास्थ्य संसाधनलाई जित्न नदिने परिस्थितिको सिर्जना गर्नु रहेको उनीहरुले बताए। यस्ता संसाधनको प्रयोगमा रोग प्रतिरोधात्मक क्षमता कम भएका क्यान्सर बिरामी, वृद्धवृद्धा तथा अन्य जोखिमपूर्ण समूहलाई प्राथमिकतामा राख्नुपर्ने कुरा उनीहरुको भनाइ थियो।
घरमै पनि हल्का लक्षण भएका संक्रमितहरुले आफ्नो हातको सफाइ, मास्कको प्रयोग तथा अन्य स्वच्छ आनीबानीको प्रोत्साहन गरेमा आफूबाट अरुमा हुने संक्रमण धेरै नै हदसम्म निर्मुल पार्न सकिने कुरा कार्यक्रममा प्रकाश पारिएको थियो। संक्रमितले सकेसम्म छुट्टै सुत्ने कोठा तथा चर्पीको प्रयोग गर्ने, एक्लै आफ्नै कोठामा बसी खाना खाने तथा आफ्नो मास्क, टिस्यु पेपर जस्ता भाइरसको सञ्चय हुने उपकरणहरुको प्रयोगपछि उचित व्यवस्थापन गर्ने कार्यहरुले संक्रमणको जोखिम धेरै कम हुने डाक्टरहरुले बताएका थिए।