चितवन- पूर्वी चितवनका चार नगरपालिकाका जनतालाई सेवा दिन सक्ने बकुलहर रत्ननगर अस्पताल प्रदेश स्तरीय हुने भएको छ। बागमती प्रदेशले सबै जिल्लामा एउटा प्रदेश स्तरीय बनाउने क्रममा बकुलहर अस्पताललाई प्रदेश अस्पताल बनाउन लागेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार हाल १५ शय्या रहेको सो अस्पताल प्रदेश स्तरको हुने भएको हो। वि.सं २०५८ मा धनधान्याञ्चल महायज्ञ लगाएर आर्थिक सङ्कलन गरी त्यहाँको स्वास्थ्य चौकीलाई अस्पताल बनाइएको थियो। हाल त्यहाँ पाँच विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन्।
अस्पतालमा हाल आकस्मिक, बहिरङ्ग, भर्ना गरेर उपचार सेवा, प्याथोलोजी, डायलासिस, भिडियो एक्स–रे, एक्स–रे जस्ता सेवा उपलब्ध छन्। अस्पतालमा प्रसूति, बालबालिका, छाला, दाँत लगायतको विशेषज्ञ सेवा दिइँदै आएको छ। डा बगालेका अनुसार अस्पतालमा तला थप गरेर सघन उपचार कक्ष र पोष्टअप बनाइँदै छ।
उनले प्रदेश स्तरको भएसँगै ५० शय्याभन्दा माथिको अस्पताल बन्ने बताए। थप विशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पताल बन्ने बगालेको भनाइ छ। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका नीति योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार यस क्षेत्रको जनघनत्वका आधारमा श्यया तय हुनेछ। आउँदो वर्ष अस्पतालमा प्रसूति भवन निर्माणका लागि रु एक करोड ५० लाख बजेट विनियोजन भइसकेको उनले जानकारी दिए। बहुवर्षीय योजनाअन्तर्गत सो भवन बन्नेछ।
हाल बागमती प्रदेशका आठ जिल्लामा प्रदेश स्तरका अस्पताल छन्। थप पाँच जिल्लामा अस्पताल निर्माण गर्न लागिएको उनले जानकारी दिए। पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकासँगै मकवानपुरका सीमा क्षेत्रका जनतालाई सो अस्पतालले सेवा दिन सक्नेछ। त्यस क्षेत्रमा विशेषज्ञ अस्पताल नहुँदा बिरामी भरतपुर आउन बाध्य छन्।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँको पुरानो सरकारी अस्पतालको प्रदेश सरकारले स्तरोन्नति गरेको भन्दै खुशी व्यक्त गरे।
'हामीले पटकपटक सरकारलाई स्तर वृद्धिका लागि आग्रह गरेका थियौँ', प्रमुख वनले भने, 'अहिले आएर प्रदेश सरकारले हाम्रो आग्रह सुनेको छ।' उनले अस्पतालको स्तर वृद्धिमा आवश्यक सहयोगमा रत्ननगर नगरपालिका लागि पर्ने बताए। सो अस्पताल रत्ननगर नगरपालिकाको टाँडी बजार नजीकै छ। रासस