दैलेख- आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। दुल्लु नगरपालिका वडा नम्बर १० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो।
उनी गत जेठ ११ गते भारतको अहमदाबादबाट आई दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी मावि गमौडीस्थित क्वारेन्टिनमा बसेका थिए। बसेको १४ दिनपछि आरडिटी नेगेटिभ आएपछि उनलाई जेठ २५ गते घर पठाइएको थियो।
क्वारेन्टिनबाट फर्किएको १६ दिनपछि यही असार ९ गते बेलुकी झुण्डिएको अवस्थामा उनी मृत फेला परेको दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए।
असार १० गते दुल्लु अस्पतालमा लगी शव परीक्षणका साथै कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन गरेर कर्णाली प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत पठाइएको थियो। त्यहाँको परीक्षणमा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए। रासस